काठमाडाैं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको ब्याजदर बढाएको छ । मंगलबार पुनरकर्जा कार्यविधि २०७८ को चौथो संशोधनमार्फत ब्याजदर ७ प्रतिशत कायम गरेको हो ।
राष्ट्र बैंकले साधारण पुनरकर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट ७ प्रतिशत लिन सक्ने व्यवस्था गरेको छ । बैंकहरुले राष्ट्र बैंकबाट भने ५ प्रतिशतमा पाउने छन् । बैंकका ग्राहकहरुले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा ७ प्रतिशत, विशेष पुनरकर्जामा ५ प्रतिशत र साधारण पुनर्कर्जा अन्तर्गत ७ प्रतिशत व्याज लिन पाउने छन् । बैंकहरुले भने राष्ट्र बैंकमार्फत् क्रमशः ४ प्रतिशत, २ प्रतिशत र ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउनेछन् ।
एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन ।
कोभिड–१९ को असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध श्रोतको आधारमा पुनरकर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कोभिडबाट अति प्रभावित बाहेक व्यवसायलाई अब पुनरकर्जा सुविधा नदिने घोषणा गरेको छ ।
राष्ट्र बैंकले प्रति ग्राहक १५ लाख सम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा बैंक तथा वित्तीय संस्थालाई दिनसक्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षामा पुनरकर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो ।
Comment