नर्भिक अस्पतालको एजीएमबाट ५० प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

नर्भिक अस्पतालको एजीएमबाट ५० प्रतिशत लाभांश पारित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा (एजीएम) ले ५० प्रतिशत बोनस शेयर पारित गरेको छ ।

आईपीओ निष्काशनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७÷७८ को खूद नाफाबाट शेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।

नर्भिक अस्पतालको हालको चुक्तापूँजी १५ करोड रुपियाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २२ करोड ५० लाख रुपियाँ पुग्नेछ । यस्तै, एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर १०० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।

अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ५६ लाख खूद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ । आज थापाथलीस्थित बिएलसी विल्डिङमा सम्पन्न वार्षिक साधारणसभामा संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो क्रममा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायित्वअन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले जानकारी दिएका थिए ।

अस्पतालमा हालै आइभिएफ सेन्टर संचालनमा आएको, निकट भविष्यमै अन्तर्राष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि शेयर निष्काशनको प्रक्रिया अगाडि बढाइने कार्ययोजना प्रस्तुत गरेका थिए ।

एजीएममा नर्भिकका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा संचालक र शेयरधनीको सहभागिता रहेको थियो ।

प्रकाशित : २८ पुस २०७८, बुधबार १७:५७ 12 January, 2022 5:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।