दाङ । दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाएको छ । गाउँपालिकाको सर्वपक्षीय बैठकबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाउने निर्णय गरेको हो ।
सिमेन्ट उद्योगले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारमाथि बारम्बार वेवास्ता गरेको, खानी प्रभावीत क्षेत्रका नागरिक, बंगलाचुली गाउँपालिका र जिल्ला प्रशासन कार्यालय समक्ष विभिन्न मिति र समयमा गरेका निर्णय कार्यान्वयन नगरेको भन्दै चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाइएको छ ।
उद्योगले विभिन्न समयमा गरेका सम्झौता र निर्णयको कार्यान्वयन गरी वातावरण प्रदूषण न्यूनीकरण गर्ने वातावरण तयार नपार्दासम्म उत्खनन् र ढुवानी कार्य स्थगन गराएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए ।
नागरिक स्थरबाट पटक पटक सिमेन्ट उद्योगले उत्पन्न गरेको समस्या समाधानका लागि आवाज उठे पनि विभिन्न चरणमा हुने बैठकको निर्णय र सहमति अनुसार उद्योगका उत्खनन् कार्य जारी राख्न दिने गरेको तर उद्योगले गरेको सम्झौता कार्यान्वयन नगर्दा गाउँपालिकाले उत्खनन् स्थगन गर्नु परेको गाउँपालिका अध्यक्ष वलीले बताए ।
Comment