उदयपुर । चौदण्डीगढी नगरपालिकाले जग्गाको लगत संकलनपछि नापजाँच सुरू गरेको छ । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास क्षेत्रमा जग्गाको लगत संकलनपछि नापजाँच थालेको हो ।
नगरपालिकाले वडा नम्वर ८ सिद्धिपुरबाट जग्गा नापजाँचको कार्य सुरू गरेकाे हाे । जग्गा नापीमा प्रयोग गरिने मेसिन टोटल स्टेशन (टियस) को नगरप्रमुख खगेन्द्र राईले (स्विच अन) गरेर सो कार्यको सुरू गरेका हुन् । वडामा भूमिहिन दलितको संख्या २५ घर, भूमिहिन सुकुमबासी ५० घर र अव्यवस्थित बसोवासीहरू संख्या ६ सय ८५ घर भएको लगत संकलन इकाइका प्रमुख कुमार श्रेष्ठले बताए ।
असारभित्र नापी सकिनु पर्ने थियो तर कोरोना महामारीका कारण रोकिएको काम सुरू गरिएको प्रमुख श्रेष्ठले बताए । लामो समयदेखि ऐलानी, पर्ती जग्गामा बसोबास गरिरहेको सर्बसाधारणलाई अब आफ्नो जग्गाको मालिक बन्न अर्थात आफूले भोगचलन गर्दै आएको जग्गाको (स्वामित्व) ग्रहण गराउन लागेको नगर प्रमुख राईले बताए ।
यो अत्यन्तै जटिल कार्य भएकोले स्थानीय संघसंस्थालगायत सचेत नागरिक र विभिन्न दलसँग आबद्ध राजनीतिकर्मीहरूसँग हातेमालो र सहयोग गरिदिन अनुरोध समेत गरेका छन्। साझा कार्यको लागि सबै एक जुट भए मात्र वडा, नगर र राष्ट्र समृद्ध हुने नगर प्रमुख राईको भनाइ थियो । लगत संकलनकाे लागि नगरपालिकाले ३२ जना करार कर्मचारी नियुक्ति गरी सो कार्य सुरु भएकाे थियो ।
Comment