ललितपुर । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभामा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा राष्ट्रिय सहकारी बैकका अध्यक्ष केबी उप्रेती तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाललगायतले शुभकामना मन्तब्य राखेका थिए । सभामा संस्थाका अध्यक्ष माधव तिमिल्सिनाले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले बचत ऋण, लघुवित्त, सहकारी कृषि बजार तथा सहकारी कृषि फार्म सञ्चालन गर्दै आएको जनाए । साथै संस्थाले ९ वटा सेवा केन्द्रमार्फत १२ हजारभन्दा बढी सदस्यहरु लाई सेवा पुर्याउँदै आएको जानकारी दिए ।
साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट १८ वटा लघुवित्त समुह, उत्कृष्ट कारोवार गर्ने २० जना सदस्य, उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट शाखा प्रमुख तथा उत्कृष्ट कर्मचारी समेत गरी २४० भन्दा बढी सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सभा परिसरमा सदस्यहरुले आफ्नो उत्पादनको स्टलपनि राखेका थिए । संस्थाले आ.व. २०७७÷७८ मा १ अर्ब २ करोडको वासलात बनाउन सफल भएको जनाइएको छ । कोरोना महामारीको कारणले लकडाउन भएको अवस्थामा सदस्यहरुलाई घरदैलो सेवा, बैक खातामा रकमान्तर सेवा तथा लकडाउनको समयमा सदस्यहरुले तिर्नुपर्ने ब्याजमा ५ प्रतिशत देखि १० प्रतिशत छुट प्रदान गरेको जनाइएको छ।
कोरोना संक्रमित भएका सदस्यहरुलाई विभिन्न अस्पताल सँग समन्वय गरी उपचारमा सहजीकरण जस्ता कार्यहरु गरिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए । त्यसैगरी सदस्यलाई सुत्केरी पोषण खर्च,ऋणी सदस्यको मृत्युमा कर्जा मिनाहा, सदस्यको मृत्युमा १५ हजार देखि २५ हजारसम्म किरीया खर्च प्रदान गरेको जनाइएको छ ।
सदस्यको श्रीमानको मृत्युमा ७ हजार ५ सय देखि १० हजारसम्म किरीया खर्च प्रदान गरेको सभामा जानकारी दिइयो । सदस्यको १ लाख बराबरको दुर्घटना बिमा तथा १० हजारसम्मको औषधी उपचार विमा तथा कर्मचारीको ५ लाख बराबरको दुर्घटना बिमा तथा २५ हजार बराबर औषधी उपचार खर्च प्रदान गरेको बताइएको छ ।
संस्थाले सदस्यहरुलाई वित्तिय साक्षरता शिक्षा प्रदान गरेको साथै सदस्यहरुलाई सिपमुलक तालिम,महिला सदस्यहरुलाई तीज कार्यक्रम गरेको उनले जनाए । प्राकृतिक बिपत्तीको कारणले सदस्यको घर क्षति हुँदा १० हजार सहयोग गर्ने गरेको जस्ता कार्यक्रम संचालन गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
Comment