काठमाडौं,२१ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ राहत दिने पहिलो निर्णय गरेको छ । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराका अनुसार बैठकले सहिद र बेपत्ताका परिवारलाई राहत दिने विगतका सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री दाहालले संविधानमा सर्वस्वीकार्यता बढाउँदै कार्यान्वयनको सुनिश्चिततालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । संविधान अस्वीकार गर्दै आएका मधेसी दलको समेत समर्थन प्राप्त गरी प्रधानमन्त्री भएका दाहालले बिहीबार सिंहदरबारमा पदभार ग्रहण गरेपछि त्यस्तो बताएका हुन् ।
‘मधेस, थारू र जनजातिले उठाएका मुद्दा सम्बोधन गरेर राष्ट्रिय एकता सुदृढ गर्दै संविधानलाई अधिकतम सर्वस्वीकार्य बनाउने प्रक्रियामा अगाडि बढ्दैछौं । संविधान कार्यान्वयनको चुनौती छ । संविधानमा अधिकतम स्वीकार्यता बढाउँदै कार्यान्वयनको सुनिश्चितता ऐतिहासिक रूपले आवश्यक छ’, दाहालले भने ।
नेपाली जनताले तत्कालीन र दीर्घकालीन हिसाबले आर्थिक समृद्धि हासिल होस् भनेर तीव्र आकांक्षा व्यक्त गरेको भन्दै दाहालले बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने्तिर ध्यान केन्द्रित गरी जनताको त्यो आकांक्षाअनुरूप तत्कालिक, मध्यकालीन र दीर्घकालीन विकासका आयोजना अगाडि बढाउने जानकारी दिए । आजको अन्नपुर्ण पोष्टबाट ।
Comment