कांग्रेस महाधिवेशनः सभापति एउटै, अरू पदमा प्यानल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस महाधिवेशनः सभापति एउटै, अरू पदमा प्यानल



तनहुँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको गाउँ तथा नगर अधिवेशन तनहुँमा शनिबार शनिबार हुँदैछ । जिल्लाका १० स्थानीय तहमा अहिलेसम्म कहीँ सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना देखिएको छैन । सर्वसम्मत नेतृत्वको प्रयास भने जारी छ ।

गाउँ तथा नगर कमिटीमा रहेर नेतृत्व हाँक्ने आकांक्षीहरूले धमाधम उम्मेद्‍वारी दिइरहेका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा पनि प्यानलसहित उम्मेद्वारी घोषणा भएको छ । अचम्म त के छ भने उम्मेद्वारी घोषणा गरेका दुवै प्यानलले सभापतिको उम्मेद्‍वार एउटै व्यक्तिलाई बनाएका छन् ।

बिहीबार सभापतिमा ७९ वर्षीय गोपीबहादुर गुरुङसहितको टिमले उम्मेद्‍वारी घोषणा गरेको छ । संस्थापन पक्ष शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सहमहामन्त्री गोविन्दराज जोशी गुटको संयुक्त प्यानल बनाएर उम्मेद्‍वारी घोषणा गरिएको हो ।

केन्द्रीय सदस्य प्रदीप पौडेलको गृह नगरमा उनी निकटलाई वाइपास गरेर घोषणा गरिएको प्यानलको उपसभापतिमा सपना पराजुली र बालकृष्ण पौडेल उम्मेद्‍वार रहेका छन् । सचिवमा मदन श्रेष्ठ, धिरजविक्रम खाँण ठकुरी, सहसचिवमा विष्णुहरि पन्थी र टेकनारायण कोइरालाले उम्मेदवारी दिएका छन् ।

बिहीबार र शुक्रबारको लामो रस्साकस्सीपछि प्रदीप पौडेलको प्यानलले पनि उम्मेद्‍वारी दिएको छ । सभापतिमा भने उनै गोपीबहादुर गुरुङलाई समर्थन गर्दै उम्मेद्वारी घोषणा गरिएको हो । भोलिसम्म अन्य कसैले सभापतिमा दाबी नगरे पुराना नेता गुरुङ सर्वसम्मत नगर सभापति बन्नेछन् । यसअघि पनि उनै गुरुङलाई सर्वसम्मत बनाउन यहाँका नेता कार्यकर्ता सहमत थिए ।

पौडेल प्यानलबाट उपसभापतिमा कृष्णप्रसाद रेग्मी र भिमादेवी खत्री (मञ्जु) ले उम्मेद्‍वारी दिएका छन् । सचिवमा शिवराज रेग्मी र दीपेन्द्र पौडेल, सहसचिवमा राजेश खनाल र भीष्म श्रेष्ठ छन् ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार २२:२४