जब ‘प्रचण्ड’ले ७० करोड बार्गेनिङको प्रसंग सम्झिए‍ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जब ‘प्रचण्ड’ले ७० करोड बार्गेनिङको प्रसंग सम्झिए‍



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग सम्झिएका छन् । वाईसीएलको पाँचखाल नगर सम्मेलन सम्बोधन गर्न काभ्रे पुगेका प्रचण्डले त्यहाँबाट निर्वाचित सांसद गोकुल बास्कोटा जोडिएको ७० करोड काण्डबारे चर्चा गरेका हुन् । ७० करोड काण्डमा छानबिन गर्नभन्दा एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले फसाएको भनेर बास्कोटालाई संरक्षण दिएको प्रचण्डको दाबी छ ।

‘ओली प्रम भएपछि भ्रष्टाचार गर्दिनाँ, गर्न दिन्नँ भने । सुन्दा योभन्दा राम्रो त कुरा हुँदैन । तर उनले आफूले गरेका भ्रष्टाचार ढाकछोपमात्रै गरे,’ उनले भने, ‘काभ्रे जिल्लामा ७० करोडको कुरा त सुन्नु भएको होला । यो काण्ड प्रमाणित रूपमा आयो । मैले यस्तो विकृति विसंगति रोक्नुपर्छ भनेर ओलीलाई भने । तर ओलीले अकार्ले फसाएको हो भनेर उन्मुक्ति दिए । नांगै भ्रष्टाचार गर्ने, अनि गर्दिन गर्न दिन्न भन्ने ?’

प्रचण्डले आफ्नो पहिलो कार्यकालमा कसैले भ्रष्टाचार भयो भन्ने ठाउँ पनि नपाएको दाबी गरे । ‘मेरो पहिलो प्रधानमन्त्रीकालमा कसैले भ्रष्टाचारको उच्चारण गर्न पाएन । त्यति स्वच्छ कार्यकाल नेपालमा आजसम्म भएकै छैन,’ उनले भने ।

प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा २५ वर्षभन्दा यताको विकास भएको दाबी गरे । ‘दोस्रो कार्यकालमा पनि भ्रष्टाचार त झन हुँदै भएन। कसैले पत्रिकामा लेख्न सकेन,’ उनले भने, ‘तर ओलीको पालामा सुरुदेखि नै भ्रष्टाचार भयो । यति, ओम्नी, ७० करोड, खोपमा अनियमितता, वाइडबडी, जाँदाजाँदै बाजागाजामा करोडौंको भ्रष्टाचार गरे । यस्ता ढोंगी र पाखण्डी मान्छेले हामी जनताको सेवक हौं भन्ने ?’

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १९:१६