गच्छदारको प्रश्न : ललिता निवास जग्गामा निर्णय गर्ने माधव नेपाल, मुद्दा मलाई चलाउने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गच्छदारको प्रश्न : ललिता निवास जग्गामा निर्णय गर्ने माधव नेपाल, मुद्दा मलाई चलाउने ?



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गच्छदारले राजनीतिक प्रतिशोध साधेर आफूलाई मुद्दा चलाइएको आरोप लगाए । ‘आधा शताब्दी लामो मेरो राजनीतिक करिअरमाथि सुनियोजित रूपमा प्रहार गरेको छ । राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले मात्र ललिता निवास जग्गा प्रकरणमा मलाई मुछेर मुद्दा चलाइयो,’ उनले पत्रकार सम्मेलनमा भने ।

राजनीतिक षडयन्त्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग भएको उनको आरोप थियो ।

‘माधव नेपालको नेतृत्वमा सर्वसम्मत निर्णय’

नेता गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा मन्त्रिपरिषद्ले सर्वसम्मत निर्णय गरेको पनि उल्लेख गरेका छन् । निर्णय माधव नेपालको नेतृत्वमा भएको तर आफूलाई मात्र मुद्दा चलाएकोमा उनले आक्रोश पोखेका छन् ।

‘प्रधानमन्त्री एवं विशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना मैल भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलादेखि नै प्रारम्भ भएको हो । उक्त गुरु योजना मेरो निर्देशन र निर्णयले बनेको होइन,’ गच्छदारले प्रष्टीकरण दिएका छन् ।

अगाडि भनेका छन्, ‘सो गुरु योजना कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशानुसार प्रक्रिया अगाडि बढेकोमा तह तह हुँदै मसम्म आएको टिप्पणीबमोजिमको प्रस्ताव उपर निर्णय हुनको लागि मैले मन्त्रिपरिपदमा प्रस्ताव पेससम्म गरेको हुँ । उक्त प्रस्ताव मन्त्रिपरिपदबाट सर्वसम्मत रूपमा पारित भई कार्यान्वयन अगाडि बढेको हो । यस्तो मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा विभागीय मन्त्रीको हैसियतले प्रस्तावसम्म पेस गर्ने मउपर मात्र मुद्दा चलाइएको तथ्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मउपर पूर्वाग्रह राखेको प्रमाणित गर्दछ ।’

आफूले व्यक्तिगत रूपमा लाभ नलिएको र नेपाल सरकारलाई हानि पुऱ्याएको अवस्था नभएकोले सरकारको गरुयोजना कार्यान्वयन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्नेसम्मको कदम भ्रष्टाचारजन्य कार्य हुननसक्ने गच्छदारको जिकिर छ ।

अख्तियारले गैरकानुनी तरिकाले आफूसमेत विपक्षी बनाएर विशेष अदालतमा २२ माघ २०७६ मा मुद्दा दायर गरेको र ३० असारमा विशेष अदालतमा हाजिर भएर न्यायालयले मलाई धरौटीमा रिहा गरेको उनले उल्लेख गरेका छन् । ‘न्याय पाएपछि मात्र बोल्ने सोच थियो । तर, राजनीतिक प्रतिशोध र कुत्सित उद्देश्यबाट झुटा मुद्दा लगाएर जीवनभर स्वतन्त्रताका लागि निरन्तर क्रियाशील व्यक्तिको सार्वजनिक जीवन समाप्त पार्ने षडयन्त्र भएको निष्कर्षसहित बोल्न बाध्य भएँ,’ उनले भनेका छन् ।

गच्छदारले आफ्नो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त गर्ने कुत्सित उद्देश्यबाट रचिएको षडयन्त्रमा अख्तियार प्रयोग भएको र आफ्नो लामो राजनीतिक जीवनमा धक्का लागेको उल्लेख गरेका छन् । ‘मलाई आरोपित गर्दा आरोपपत्रमा लगाइएका आरोप र संलग्न प्रमाण कागजातले नै आरोपहरु केवल षडयन्त्र मात्र हो भन्ने पुष्टि हुन्छ,’ उनले भनेका छन् ।

सरकारको राजनीतिक दबाब प्रतिशोधको एजेण्डामा संवैधानिक आयोग अख्तियारले शीर निहुराएर जसरी पनि मुद्दा चलाउनुपर्छ भन्ने रणनीति लिएको उनको आरोप छ ।

‘मुद्दा निष्पक्ष चलाइएको छैन । छानी छानी मुद्दा लगाउने काम भएको छ । उन्मुक्ति दिन नपर्नेलाई उन्मुक्ति दिएर काखापाखा गरिएको छ । राजनीतिक पूर्वाग्रहबाट मात्र मलाई तान्ने र कसैकसैलाई दलीय संरक्षण प्रदान गरी मेरो राजनीतिक चरित्र हत्या गर्ने षडयन्त्र भएको छ,’ गच्छदारले भनेका छन् ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १७:१८