मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड



काठमाडौँ । मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड गरिएको छ । मेगा बैक नेपाल लिमिटेडले प्रबद्र्घन गरेको उक्त मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ को प्रति इकाई मूल्य रु.१०/- दरको १० करोड इकाई बिक्री खुला गरिएको थियो ।

उक्त इकाई मध्ये न्यूनतम १ करोड पचास लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवद्र्धक बैंकलाई सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड पचास लाख इकाईको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

यस सामुहिक लगानी कोषमा इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको थियो, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।

मागभन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य रु.१०/- दरको १२,५०,००,००० (बाह्र करोड पचास लाख) इकाईहरु अर्थात रु १,२५,००,००,००० (एक अर्ब पच्चिस करोड) बराबरको योजनाको आकार निर्धारण गरी बाँडफाँड गरिएको छ । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ ।

धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिका अनुसार रितपूर्वक प्राप्त आवेदन मध्ये १०० इकाईदेखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १,५५,८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको, ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गर्नुका साथै बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

प्रकाशित : २४ भाद्र २०७८, बिहीबार १२:०३