मेची सहकारीको ८४ सम्मान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मेची सहकारीको ८४ सम्मान कार्यक्रम



झापा। झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले ८४ कार्यक्रम शुरु गरेको छ । संस्थाले २५ औं वार्षिकोत्सव एवं २७ औं साधारणसभाको शुभारम्भको अवसर पारेर उक्त कार्यक्रम थालनी गरेको हो ।

यस कार्यक्रम अन्तर्गत ८४ वर्ष पुगेका सदस्यहरुलाई ३० हजार नगदसहित सम्मान गरिने भएको छ । दमक नगरपालिकाका प्रमुख रोेमनाथ ओलीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको सभापतित्वमा वार्षिकोत्सव एवं साधारणसभा शुभारम्भ कार्यक्रम भएको हो ।

संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले यस वर्ष ८४ वर्ष उमेर पुगेका १२ जना सदस्यलाई नगदसहित आगामी भाद्र १२ गते सम्मान गरिने जनाए । सो दिन संस्थाको साधारणसभाको समापन कार्यक्रम रहेको र कोभिडजन्य असहज परिस्थितिका कारण कार्यक्रम स्थगित हुन गएमा उपयुक्त समय पारेर सम्मान गरिने समेत उनले जानकारी दिए ।

त्यसैगरी संस्थाबाट ऋण लिएका र असार मसान्तसम्म कर्जाको ब्याज भुक्तानी गरेका सदस्यहरुले आगामी चैत्र मसान्तसम्म साँवाब्याज बुझाउन नसकेपनि हर्जाना लगायतका कुनै शुल्क नलिने निर्णय भएको उनले बताए ।

कोभिड १९ का कारण सदस्यहरुको व्यापार व्यवसायमा असर परेकाले सदस्यहरुलाई वित्तीय चाप नपरोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको उनको भनाई छ ।

संस्थाले आजबाट सहकारी विभागको साधारणसभा सम्बन्धी गत वर्षकै मार्गनिर्देशनलाई आधार मानेर ईकाईस्तरमा प्रतिवेदन वितरण कार्यक्रम शुरु गरेको छ । दुईसातासम्म सदस्यहरुलाई प्रतिवेदन अध्ययनका लागि दिने र प्राप्त सुझावलाई समेटेर भदौ १२ गते विद्युतीय माध्यमबाट साधारणसभा सम्पन्न गर्ने संस्थाको योजना छ । संस्थाका अध्यक्ष भट्टराईले चालु आ.व.को नीति तथा कार्यक्रम र संस्थाका सीइओ खोमप्रसाद बगालेले संस्थाको वित्तीय अवस्था र कारोबारका बारेमा प्रकाश पारेका थिए ।

आर्थिक वर्ष २०७७।०७८ को अन्त्यसम्म संस्थामा ९४८० जना शेयरसदस्य पुगेका छन् । त्यसैगरी ३१ करोड १४ लाख शेयरपुँजी, जगेडा तथा अन्य कोषहरुमा २० करोड माथि, बचत संकलन १ अर्ब ९३ करोड र ऋण लगानी २ अर्ब ५० करोड गरी कुल वासलात २ अर्ब ९६ करोड पुगेको छ ।

प्रकाशित : २८ श्रावण २०७८, बिहीबार १५:३५