मौद्रिक नीति ल्याउन मैले रोकेको छैनः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मौद्रिक नीति ल्याउन मैले रोकेको छैनः अर्थमन्त्री



काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले यस आर्थिक वर्षको मौद्रिक नीति ल्याउन मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई नरोकेको स्पष्टीकरण दिएका छन्।

आर्थिक पत्रकार संघ नेपाल (नाफिज) का पदाधिकारी तथा कार्यसमिति सदस्यसँगको भेटका क्रममा मन्त्री शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको बताएका छन्।

राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्रै भनेको उनले जानकारी दिए।

मन्त्रालयले ल्याउने भनिएको श्वेतपत्रबारे राखिएको ज्ञिजासामा मन्त्री शर्माले कसैलाई गलत देखाउन नभई आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्रै खोजिएको स्पष्ट गरे ।

‘यो कुनै फिल्म खेल्ने कुरा होइन, भिलेनलाई पछारेर हिरोले जितेको देखाउनलाई, म त्यस्तो अभियानमा छैन’, उनले भने, ‘आफूले देखेको कुरा भन्ने हो। जे छ त्यही प्रष्ट राख्ने हो।’ मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हिसाबले काम थाल्ने सोंच रहेको पनि बताएका छन्।

‘मसँग काम गर्ने धेरै समय छैन। धेरै गर्न सकिने अवस्था पनि छैन। तर विषय विज्ञ एवम् तपाईंहरु सबैको सुझाव र जनताको आवाज दुवै मिसाएर अर्थतन्त्रलाई केही फरक दिशा दिने सोचेको छु, त्यो म गर्छु,’ मन्त्री शर्माले भने।

कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुङ्गानाले अर्थतन्त्रको स्थिति कमजोर अवस्थामा रहेको बताउँदै पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्न मिहिनत आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रकाशित : १४ श्रावण २०७८, बिहीबार १७:१६