काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने बताएका छन् । उनले भने, ‘बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई यस सरकारले खोपमा प्राथमिकता दिने छ ।’ सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशिलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना रहेको बताए ।
‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।’ उनले राष्ट्रिय सहकारी महासंघको टोलीसँग सोमबार बिहान भएको भेटमा सो कुरा बताए ।
राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समेत रहेका गृहमन्त्री खाँणले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने बताए । उनले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताए । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराए ।
भेटमा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, संचालक खेम पाठक, संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, संचालक डिवी बस्नेत, राजेन्द्र पौडेल, सागर ढकाल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो ।
Comment