प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप



काठमाडाैं । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ।

‘८.५० प्रतिशत प्रभु बैंक ऋणपत्र–२०८७’ नामक सो ऋणपत्रमा अब जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको हो। सोमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको छ।

सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० कित्ता बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १५ लाख ९७ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार ०८:१९