काँग्रेसले तीन जिल्लाका पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणमा लगाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काँग्रेसले तीन जिल्लाका पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणमा लगाउने



काठमाडाैँ । नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिएको छ।


नेपाली काँग्रेस नुवाकोट, सुनसरी र रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणको लागि दिने घोषणा गरेका हुन्।


जिल्ला सभापति समेत रहेका राजीव कोइरालाले इनरुवास्थित पार्टी कार्यालयको भवनलाई नगरपालिकाले आवश्यकताअनुसार आइसोलेसनका रूपमा प्रयोग गर्न सक्ने गरी इजाजत दिएको बताए।


कोइरालाले विषम परिस्थितिमा जनताको स्वास्थ्यको ख्याल गर्नु प्रमुख दायित्व भएको भन्दै पार्टी कार्यालयको भवनमा आइसोलेसन सञ्चालन गर्न नगर प्रमुखलाई भनिएको बताए।


यस्तै, नुवाकोटको विदुरस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा कोभिड १९ को अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटले अनुरोध गरेको छ।


नुवाकोटका हर नागरिकको जीवन रक्षाको लागी नेपाली काँग्रेस नुवाकोट सधैँ साथ साथमा हुने जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको प्रतिबद्धता छ।


यसै गरी काँग्रेस रुपन्देहीले पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ।

भैरहवास्थित भीम अस्पतालको पछाडि काँग्रेस रुपन्देहीको २ वटा हल, ११ कोठाको दुई तले कम्पाउन्ड सहितको भवन आइसोलेसन निर्माणका लागि दिने व्यवस्था मिलाइएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए।


कोभिड महामारीको दोस्रो चरण समुदाय स्तरमा फैलिइरहेको र मानिसले बेड, अक्सिजन नपाएरै ज्यान गुमाउने स्थिति आएकाले आफूहरूले उक्त निर्णय गरेको बताए।


काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टी पङ्क्तिलाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए।

प्रकाशित : 7 May, 2021 5:23 pm