काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष, नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२औं स्मृति दिवस ।
उनको स्मृतिमा नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड– १९ को संक्रमणका कारण यसवर्ष औपचारिक कार्यक्रम राखिएको छैन् ।
स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गरिएको आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताएका छन् ।
‘सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्’– उपप्रधानमन्त्री पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको पोखरेलले बताएका छन् । उनले भने, ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’
एमालेका महासचिव पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेको लोकप्रिय सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार थिए ।
‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । तत्कालीन सरकारका लोकप्रिय कार्यक्रमहरू अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । उहाँको नेतृत्वको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन्’, विज्ञप्तिमा भनिएको छ ।
पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
Comment