काठमाडाै । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई डिजिटाइज गर्नु आवश्यक रहेको बताएका छन् । उनले सहकारीलाई डिजिटाइज गर्नु आवश्यक रहेको भन्दै हब सहकारीले समय सापेक्ष रुपमा सहकारीका लागि आवश्यक सेवा सुरु गरेको बताए ।
‘सहकारीलाई डिजिटाइज गर्नुपर्याे,’ गभर्नर अधिकारीले भने, ‘हबले सुरु गरेको सहकारीमा डिजिटाइज गर्ने काम आवश्यक छ ।’
हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले गभर्नर अधिकारीलाई हब कोअपरेटिभले सुरु गरेको डिजिटल सेवाको बारेमा जानकारी गराएका थिए ।
गभर्नर अधिकारीले सहकारीमा ठुलो नगद भएकाले डिजिटल प्ल्याटफर्मको प्रयोग गरेर कारोबार गर्न आग्रह गरे । सहकारीले आफ्ना सदस्यलाई डिजिटल सेवा दिन सक्ने बताए । ‘अनुमति प्राप्त प्ल्याटफर्म सँग सम्झौता गरेर सहकारीले आफ्नो सेवा दिन सक्छ,’ उनले भने, ‘आवश्यक सहजीकरण गर्न राष्ट्र बैङ्क तयार छ ।’
पौडेलले गभर्नर अधिकारीलाई भेटेर सहकारीलाई प्रविधि मैत्री बनाउन राष्ट्र बैङ्कले सहजीकरण गर्नुपर्ने बताए । सहकारी विभागबाट अनुमति लिएर सहकारी क्षेत्रमा डिजिटल प्रविधि मार्फत वित्तीय सेवा दिन सुरु गरेको पौडेलले जानकारी गराए ।
हबले सहकारी क्षेत्रमा डिजिटल प्रविधि मार्फत वित्तीय कारोबार सुरु गरेको बताए । ‘सहकारी विभागबाट अनुमति लिएर राष्ट्र बैङ्कको सहमतिका लागि आवेदन दिएका छौँ,’ पौडेलले भने, ‘भुक्तानी सेवा प्रदायक निकायसँग समन्वय गरी काम अघि बढेको छ ।’
सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५मा भएको व्यवस्था अनुसार विद्युतीय प्रणालीमार्फत हबले आफ्ना सदस्यलाई एक सहकारीबाट अर्को सहकारीमा अन्तर सहकारी कारोबार सुरु गरेको अध्यक्ष पौडेलले जानकारी दिए । हबले सदस्य सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्ने गरी अन्तर सहकारी कारोबार गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।
सहकारीलाई बैङ्क तथा अन्य वित्तीय संस्था जस्तै प्रभावकारी, व्यवस्थित र छिटो–छरितो सेवा दिन विद्युतीय कारोबार सुरु गरेको हबले जनाएको छ । सहकारी नियमावलीमा सहकारी संस्थाले विनियममा व्यवस्था गरी अन्तर सहकारी कारोबार गर्न सक्ने प्रावधानलाई व्यवस्थित गरेको छ ।
सहकारी विभागबाट विनियम स्वीकृत गरेर देशभर कार्यक्षेत्र रहेको हब को अपरेटिभले मुलुकमै पहिलो पटक विद्युतीय भुक्तानीसहितको नयाँ सेवा दिन सुरु गरेको छ । अधिकांश सहकारी संस्थाहरू म्यानुअल पद्धतिमा सञ्चालन भइरहेको अवस्थामा हबका सदस्यलाई डिजिटल प्रविधि प्रयोग गरेर अन्तर सहकारी कारोबार सुरु गरेको हब को ओपरेटिभले दाबी गरेको छ ।
Comment