काठमाडाै । नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनको ४४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले चालु आर्थिक वर्षको बजेटमा नाडाको सुझाव अनुसार सवारी खरिदमा ५० प्रतिशतको क्याप नहटेको प्रति गुनासो गरेका छन् । उनले मध्यम आय भएका नागरिकको पहुँचमा नीजि सवारी पुग्न नसक्ने अवस्था रहेको भन्दै ५० प्रतिशतको क्याप हटाउनुपर्ने बताए ।
त्यस्तै अध्यक्ष दुलालले भौतिक प्रगतीका रुपमा सडकहरुको स्तरोन्नति, चौडा सडकको निर्माण जस्ता काम सुरु भएपनि समयमै सम्पन्न हुनेमा आशंका देखिएकाले त्यसतर्फ सचेत रहन मन्त्री नेम्वाङलाई अनुरोध गरेका छन् । उनले मूलुकलाई सबैभन्दा धेरै राजश्व तिर्ने अटोमोबाइल्स क्षेत्रका विषयमा केही निर्णय गर्दा आफूहरुलाई पनि सहभागी गराएर सुझाव लिएर मात्रै निर्णय गर्न आग्रह गरेका छन् ।
अध्यक्ष दुलालले सरकारद्वारा गठिन राजश्व परामर्श समितिमा नाडाको प्रतिनिधित्व हुने व्यवस्था गर्न पनि माग गरेका छन् । उनले स्थानीय तहमा दोहोरो, तेहोरो करको समस्या समाधान गरी एकीकृत कर प्रणाली लागु गर्न र कर प्रणालीमा सुधार गर्नुपर्ने पनि सुझाएका छन् ।
योसँगै दुलालले हरेक वर्ष नाडाले आयोजना गर्दै आएको ‘नाडा अटो शो’ का लागि भृकुटीमण्डपस्थित प्रदर्शनी स्थल निकै साँघुरो भएको गुनासो पनि राखेका छन् । चोभारमा सरकारले अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने भनेपनि काम नसकिएको प्रति गुनासो गर्दै उनले नीजि क्षेत्रले व्यापारिक प्रदर्शन गर्दा सरकारले स्थान उपलब्ध गराउनुपर्ने माग दोहोर्याएका छन् ।
‘काठमाडौंको सडक व्यवस्थापनका लागि चालु अवस्थामा रहेको चक्रपथको विस्तार समयमा नै सक्नु, नयाँ चक्रपथ निर्माणको थालनी गर्नु, खोलाका करिडोर परियोजनाहरु छिटो भन्दा छिटो सम्पन्न गर्न सक्नु, केही बाइपास सडक र फ्लाइ ओभर बनाउन सक्नु नै हाम्रो चुनौति हो’ उनले भने, ‘बानेश्वर र कालीमाटीमा बनिसकेको पुल अलपत्र अवस्थामा रहेको छ । जसको कारण यातायातको आवागमनमा ठूलो बाधा पुगेको छ ।’
अध्यक्ष दुलालका गुनासा सम्बोधन गर्दै मन्त्री नेम्वाङले नीजि क्षेत्रसँग सरकार सधैँ हातेमालो गर्न तयार रहेको बताए । विभिन्न सडक आयोजनाहरुको उदाहरण दिँदै उनले २ र ४ मात्रै नभई अब ६ लेनका सडकहरु बन्ने क्रम सुरु भएको दाबी पनि गरेका छन् । भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय काम भएको बताउँदै उनले मूलुकमा लगानी मैत्री वातावरण तयार हुँदै गएकाले यसमा नाडा लगायतका नीजि क्षेत्रका संग संस्थाहरुको दर्बिलो साथ रहेको बताए ।
Comment