श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी २२ औं बर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी २२ औं बर्षमा प्रवेश



ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औं वर्ष पूरा गरी २२ औं बर्षमा प्रवेश गरेको छ ।

२२ औं वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चागरे । उनले २१ वर्षको अवधिमा संस्थाले आफ्नो लगानीमा आज असोज १५ गतेबाट श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्री गर्न शुरु गरेको जानकारी गराए ।

संस्थाले गोदावरीमा दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरी व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, घ्युको बिक्रीवितरण शुरु गरेको छ । चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले आफ्ना सदस्यलाई थप सुविधा दिदैं जाने प्रतिबद्धता जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए ।

संस्थाले असोज १४ बाट संस्थाको ए.टी.एम्. सेवा शुरु गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले ए.टि.एम्. को उद्घाटन गरेका छन् । पुल्चोकस्थित मुख्य कार्यालयमा राखिएको ए.टी.एम्. मा असोज १४ देखि सेवा सुरुवात गरेको हो । सहकारीका सम्पूर्ण शेयर सदस्यहरुले ए.टि.एम्. सेवा लिन सक्ने संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले निकट भविष्यमा आफ्ना अन्य सुविधा काउण्टरहरुमा समेत ए.टि.एम्. बुथ स्थापना गरी सेवा दिने बताए ।

ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ ।

संस्थामा हाल २१ हजार शेयर सदस्य छन् । साथै ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भदौ १८ गते दर्ता भई २०५६ साल असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री लालीगुराँस राष्ट्रिय मा.वि.÷कलेज प्रा.लि. तथा अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मा.वि.÷कलेज प्रा.लि., डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ । संस्थाले आफ्नो सेवालाई स्तरीय, सरलीकृत तथा प्रभावकारी बनाउन आफ्ना कर्मचारीलाई अभिमुखिकरण र अन्य तालिम प्रदान गर्दै आई रहेको छ ।

संस्थाले आगामी वर्ष आफ्ना सदस्यलाई थप सुविधा दिन उपत्यका भित्र विभिन्न स्थानमा र उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा सेवाहरु विस्तार गर्ने भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले पछिल्लो समय सहकारी क्षेत्रलाई संकुचित पार्दै गएको बताए ।

उनले एक व्यक्तिले एउटा सहकारीमा मात्र सदस्य हुन पाउने जस्ता नीति अव्यवहारिक भएको बताए । नेपाल बहुउद्देश्यीय सहकारी संघ लि. का अध्यक्ष समेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताउँदै नकारात्मक दृष्टीकोणलाई परिवर्तन गर्न जरुरी रहेको स्पष्ट पारे ।

प्रकाशित : १५ आश्विन २०७७, बिहीबार ११:२९