सिजेएनले मनायो भर्चुअल माध्यमबाट स्थापना दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

सिजेएनले मनायो भर्चुअल माध्यमबाट स्थापना दिवस



काठमाडौं । नेपाल सहकारी पत्रकार समाजको १० औं स्थापना दिवस सम्पन भएको छ । भर्चुअल माध्यमबाट स्थापना दिवस मनाइएको हो ।


भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले परिकल्पना गरे अनुसार आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुसाशनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण भएको बताए ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले सहकारी क्षेत्रमा खबरदारी गर्दै अघि बढन सञ्चारकर्मीलाई आग्रह गरे । पत्रकार समाज सहकारी अभियानको आवाज बन्न सकेको भन्दै उनले सहकारीको क्षेत्रमा निकै प्रभावकारी काम गरिरहेको बताए । सहकारीको विकासका लागि सकारात्मक मार्ग दर्शनमा पत्रकारले कलम चलाउनुपर्ने उनको भनाइ छ ।


दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले नेपालको कर्मचारीतन्त्रले सहकारीलाई नचिनेको आरोप लगाए । उनले उपत्यका भित्रका सहकारीले गरेको काम हेरेर जिल्लाका सहकारीसँग तुलना गर्न नहुने धारणा राखे ।


नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षमा भएको कार्यक्रममा सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाइ , बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिना, सिजेएनका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले गरेका थिए, भने उपाध्यक्ष काजी श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार १७:०३