अब आधा कर्मचारीबाट कार्यालय सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

अब आधा कर्मचारीबाट कार्यालय सञ्चालन



काठमाडौं । सरकारले कोरोना जोखिम बढ्दै गएपछि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारसम्बन्धी यसअघि जारी भएका आदेशहरूमा हेरफेर गरेको छ । काठमाडौँ उपत्यकासहित दुई सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लाका कार्यालयहरूमा ५० प्रतिशत कर्मचारी घटाई सेवा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । सरकारले यसअघि नै उपत्यका प्रवेश नाकामा कडाइका साथै निजी तथा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारी कार्यालय, गैरसरकारी निकाय, सहकारी, लघुवित्त, बैङ्क तथा वित्तीय संस्थालगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संस्थाहरूले ५० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गर्न र बाँकी कर्मचारीलाई घरमै राखी विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्नेछ ।

कार्यालयमा ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीलाई घरबाटै कार्यसम्पादन गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउनु पर्नेछ । यस्तै मठमन्दिरमा नित्य पूजाबाहेक अन्य गतिविधि नगर्नसमेत आग्रह गरिएको छ । चाडपर्वहरू घरभित्रै परिवारका सदस्य मात्र रहेर स्वास्थ्य मापदण्ड पालना गरी मनाउनसमेत आग्रह गरिएको छ ।

सरकारले उपत्यकाका होटल, रेस्टुरेन्टबाट प्याकेट मात्र बिक्री गर्न पाउने व्यवस्था गरेको छ । होटल, रेस्टुरेन्टमा स्वास्थ्य सावधानी नअपनाइएकाले अबदेखि प्याकेट मात्र बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै भदौ १ देखि विद्यार्थी भर्नालगायत खुला गरिने भनिएका सेवाहरूसमेत भदौ १६ सम्म स्थगित गर्ने निर्णय गरिएको छ ।

त्यस्तै दैनिक उपभोग्य वस्तुलगायत पूर्वाधार विकासमा आवश्यक सामग्री आपूर्तिमा संलग्नहरूले समेत अनिवार्य रूपमा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, सैलुन, ब्युटी पार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, खेल मैदान, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखानालगायत मानिसको भीडभाड हुने कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

भारतीय सीमामा १० नाका खुला
सरकारले नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने तोकिएकाबाहेक सबै प्रवेश बिन्दु भदौ ३१ गते मध्य रातसम्मका लागि थप्ने निर्णय गरेको छ । नेपाल–भारत सीमामा १० वटा नाका मात्र खुला राख्ने निर्णय गरिएको छ । यसअघिको मन्त्रिपरिषद् बैठकले २० वटा सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । प्रवक्ता डा। खतिवडाका अनुसार काँकडभिट्टा, रानी, माडर, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका मात्र खुला गरिने भएको छ ।

पीडित परिवारलाई १० लाख
रुकुम घटनामा परी ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख रुपियाँ क्षतिपूर्ति दिने भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा जेठ १० गते भएको कुटपिटको घटनामा परी छ जनाको मृत्यु भएको थियो । सो घटनामा घाइते भएकाको बिलअनुसार उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ । सो घटनामा १२ जना घाइते भएका थिए ।

दैनिक पाँच सय यात्रुको उडान
सरकारले नेपाली कूटनीतिक नियोगको सिफारिसमा तीन सय र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहोर्ने गरी उद्धार गरिने दुई सय गरी दैनिक पाँच सय यात्रुको उडान अनुमति दिएको छ । यस्ता उडानबाट आउनेलाई काठमाडौँ उपत्यकाका तोकिएका स्थानमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको समेत जनाइएको छ । यस्तो व्यवस्था उपत्यकाका जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गर्नेछन् । विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाहरूको पीसीआर परीक्षणको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नेसमेत जनाइएको छ ।

स्वीकृत
बैठकले खाद्य पदार्थहरूको गुणस्तर निर्धारणसम्बन्धी आदेश, पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी ९सञ्चालन तथा व्यवस्थापन० निर्देशिका २०७७, राष्ट्रिय जनगणना २०७८ को घर तथा घरपरिवार सूचीकरण फाराम र मुख्य प्रश्नावली र प्रेस काउन्सिल ९कार्यव्यवस्था० ९तेस्रो संशोधन० नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको जनाइएको छ ।आजको गोरखापत्र दैनिकबाट

प्रकाशित : २८ श्रावण २०७७, बुधबार ०७:३६