भ्रष्टाचारमा मुछिएपछि स्पेनका पूर्वराजाले देश छाडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भ्रष्टाचारमा मुछिएपछि स्पेनका पूर्वराजाले देश छाडे



एजेन्सी । स्पेनका पूर्वराजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स (युएई) पुगेको दाबी गरिएको छ ।एउटा भ्रष्टाचारको मामलामा आफ्नो नाम मुछिएपछि देश छोड्ने निर्णय गरेको पूर्व राजा कार्लोस विशेष विमान मार्फत युएईमा अवतरण गरेको तस्वीर सार्वजनिक भएको छ ।

स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्वीरमा पूर्व राजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिन्छ । गत सोमबार स्पेनिस राजदरबारले कार्लोसले देश छाड्ने निर्णय गरेको जनाएको थियो ।


केही हप्ताअघि शुरु भएको भ्रष्टाचार अभियोगको अनुसन्धानमा कार्लोसको नाम पनि मुछिएपछि एकाएक उनले देश छाड्ने घोषणा गरेको जनाइएको थियो ।

आफूले कुनै गलत काम नगरेको दाबी गरेका कार्लोसले आफू अन्तर्वार्ताका लागि तयार रहेको बताएका छन् । ८२ वर्षीय पूर्व राजा कार्लोसले वर्तमान राजा छोरा फेलिपेलाई पत्र लेखेर देश छोड्ने जानकारी दिएका थिए ।

फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए । उनले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीले अन्तर्वार्ता गर्न चाहे आफू तयार रहेको पनि बताएका थिए ।


गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ख्वानको संलग्नताबारे अनुसन्धान थालेको थियो ।


स्पेनलाई अधिनायकवादबाट निकै कुशलतापूर्वक प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन मानिएको छ ।

प्रकाशित : २५ श्रावण २०७७, आईतवार ०८:१९