‘राजाहरुको तस्वीरअंकित नोट चल्छन, मक्किएका, जलेका, पानीले भिजेका चल्दैनन्’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

‘राजाहरुको तस्वीरअंकित नोट चल्छन, मक्किएका, जलेका, पानीले भिजेका चल्दैनन्’



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधनबारे जारी गरेको निर्देशनले सर्वसाधारणमा ठूलो भ्रम उत्पन्न भएको छ ।

राजाहरुको तस्वीरअंकित नोट नै नचल्ने हो कि भन्ने भ्रममा सर्वसाधारण परेपछि राष्ट्र बैंकले सोमबार अर्को विज्ञप्ति जारी गर्दै बजारमा रहेका राजाका तस्वीरअंकित नोटहरुको प्रयोगमा कुनै बाधा नपर्ने स्पस्ट पारेको छ ।

राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै ‘पूर्वराजाकोे तस्वीरअंकित नोटलाई चलनचल्तीमा पठाउन नमिल्ने नोटकोरुपमा वर्गीकरण गरिएको’ बताएपछि सर्वसाधारणमा भ्रम उत्पन्न भएको हो ।

तर, यो व्यवस्थाअन्तर्गत् अलमलमा नपर्न र सर्वसाधारणको हातमा रहेका सबै प्रकारका नोट चल्ने नेपाल राष्ट्र बैंकले स्पस्ट पारेको छ ।

सफा नोट नीति २०७३ अन्तर्गत् राष्ट्र बैंकले नयाँ नोटको प्रयोग बढाइ पुराना नोट व्यवस्थापनका लागि यस्तो व्यवस्था गरेको बताएको छ ।

यो व्यवस्थाअन्तर्गत् झुत्रिएका, मक्किएका, जलेका, गलेका, लुलो भएका, किराले खाएका, पानीले भिजेका, छपाइ बिग्रेका, अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ लागेका, केरमेट भएका तथा राजाहरुका तस्वीरअंकित नोटहरुलाई पुनः प्रयोगमा नपठाउने व्यवस्था रहेको जनाएको हो ।

राष्ट्र बैंकले नोट व्यवस्थित गर्नको लागि यसअघि नै सफा नोट नीति कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिएको थियो ।

राष्ट्र बैंकले अहिले गरेको व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटीएमलगायतका मेसिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउनयोग्य नोटको प्याकेटमा हरियो रङको स्लिप, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य नोटको प्याकेटमा सेतो रङको स्लिप र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङको स्लिप प्रयोग गर्न व्यवस्था गरेको छ ।

यो व्यवस्थाले मुद्रा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै नयाँ नोटको प्रयोगलाई बढावा दिने नेपाल राष्ट्र बैंकको भनाइ छ । बैंकले लिएको यस नीतिले बैंकमा आएको पुराना नोटलाई व्यवस्थित गरी नयाँ नोटको प्रयोगलाई बढाउने देखिएको छ ।

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार २१:१६