उद्योग परिसंघको अर्थमन्त्रीलाई सुझाव: उद्योगको विकासमा बजेट केन्द्रित होस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योग परिसंघको अर्थमन्त्रीलाई सुझाव: उद्योगको विकासमा बजेट केन्द्रित होस




काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थमन्त्री युवराज खतिवडालाई भेटी आगामी बर्षको बजेटमा समिटिनुपर्ने विषयका बारेका जानकारी गराएको छ ।

परिसंघले रोजगारी सृजना, निजी क्षेत्रको विकास र कृषिसहित लघु, घरेलु,साना तथा मझौला उद्योगको विकासमा बजेट केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल उद्योग परिसंघले विहीवार अर्थमन्त्री युवराज खतिवडालाई भेटी आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटले समेट्नु पर्ने सुझावहरु बुझाएको हो ।सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बजेटका नीतिगत तथा विषयगत सुझावहरु प्रस्तुत गरेको हो ।

सुझावमा विस्तारकारी वित्तीय नीतिसहितको बजेट ल्याउन र पूँजीगत खर्चलाई बढाई समयमा खर्च गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

यसैगरी बजेट मार्फत रोजगारी सृजनाका लागि व्यवसायिक कृषिमा लगानी आकर्षित गर्न १० वर्षका लागि आयकर छूट दिन तथा लघु, साना तथा मझौला उद्योगको विकासमा लागि लगानी जुटाउन ग्यारेन्टि कोष खडा गर्न आग्रह गरिएको छ । उद्योगहरुका लागि आवश्यक लगानीका लागि ऋणको लागतलाई आगामी ३ वर्षका लागि कम्तिमा ५ प्रतिशतले कम गर्न भनिएको छ ।

अर्थव्यवस्थामा तरलता थप गर्न भ्याट तथा अन्य कर फिर्ता लगायत सरकारले भुक्तान गर्नु पर्ने सम्पूर्ण रकम तत्काल भुक्तान गर्ने व्यवस्था मिलाई बजारमा तरलता कम हुन नदिन आवश्यक मौद्रिक उपायहरु तर्फ बजेट केन्द्रित हुनु पर्ने माग परिसंघको छ ।

बजेटले समग्र क्षेत्रका सुझावमा वर्तमान विषम परिस्थितिमा सरकारी राजस्व कम हुने जोखिम भए पनि बजारको समग्र मागलाई बढाउन व्यक्तिगत आयकरको सीमालाई बढाउन गर्न आग्रह गरिएको छ । यसले परिसंघले समग्र मागमा बृद्धि भई सरकारको राजस्व पुन वृद्धि हुने छ ।

चालू आवमा घाटामा रहेका उद्योगहरुलाई बढीमा ५ प्रतिशतमा पुनर्कर्जाको व्यवस्था गर्न आग्रह गरेको छ । यसका लागि छुट्टै एक खर्बको पुनर्कर्जा कोष निमार्ण गर्नसमेत परिसंघले आग्रह गरेको छ ।

औद्योगिक प्रवर्द्धनका नीतिहरु कम्तिमा पाँच वर्षका लागि स्थायी हुनुपर्ने सुझाव परिसंघको छ । बजेट मार्फत हरेक निर्यातमा मुल्य अभिवृद्धिका आधारमा नगद अनुदान दिने व्यवस्था गर्न आग्रह गरिएको छ ।

यसैगरी नेपाली वस्तु निर्यात गर्न सहज हुने गरी निकासी गृह को व्यवस्था गर्नेसमेत आग्रह गरिएको छ । यसैगरी नेपाली उद्योगहरुलाई प्रतिस्पर्धी बनाउदै अर्थतन्त्रलाई विस्तार गर्न स्वदेशी उद्योगलाई विदेशमा लगानी गर्न पाउने व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

परिसंघले बजेटले रोजगारी सृजना, स्वदेशी उत्पादन तथा निर्यात प्रवर्द्धन, व्यवसायिक कृषि र लघु साना तथा मझौला उद्योगको प्रवर्द्धन, लगानी योग्य रकममा पहुँच बढाउने उपयुक्त नीति ल्याउने बजेट आउनु पर्ने सुझाव दिएको छ ।

त्यस्तै बजार माग बढाउने, राजस्व नीतिमा करको दर नबढाई दायरा विस्तारमा ध्यान दिन समेत परिसंघले आग्रह गरेको छ । उक्त अवसरमा अर्थमन्त्री खतिवडाले आर्थिक गतिविधिका हिसावले देश अत्यन्त नाजुक अवस्थामा रहेको समयमा परिसंघले दिएको सुझावहरु सान्दर्भिक रहेको जानकारी दिदैं आगामी बजेट लगानी वृद्धि गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने किसिमको आउने बताएका थिए ।

प्रकाशित : १८ बैशाख २०७७, बिहीबार २१:५१