राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीलाई ब्याजमा सहुलीयत दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीलाई ब्याजमा सहुलीयत दिने



काठमाडौं । राष्ट्र बैंकले कोरोना भाइरसबाट प्रभावित ऋणीलाई असारमा तिर्नुपर्ने ब्याजमा सहुलियत दिने भएको छ ।

राष्ट्र बैंकले चौथो त्रैमासिकको ब्याजमा सहुलियत, भुक्तानी अवधि थप, सहज रूपमा चालु कर्जा प्रवाहको व्यवस्था, कर्जाको पुनर्तालिकीकरण, पुनःसंरचनालगायत विभिन्न राहत प्याकेज घोषणा गरेको हो ।

संक्रमणकालीन अवस्थाका लागि भन्दै राष्ट्र बैंकले आधा दर्जन सुविधा घोषणा गरे पनि तिनको विधि तथा प्रक्रियाबारे खुलाइएको छैन ।

कोरोनाले पारेको क्षेत्रगत प्रभाव र आफ्नो नीतिगत सीमाभित्र रहेर के–कति ब्याज छुट दिन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ ।

सोही अध्ययनको सुझावका आधारमा क्षेत्रगत रूपमा परेको प्रभावका आधारमा राहत सुविधा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चैतसम्म भुक्तानी भएको कर्जामा पाकेको ब्याजको १० प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ ।

लकडाउनका बेला भुक्तानी गर्नुपर्ने कर्जाको अवधि थप गर्ने तयारी पनि राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले यसअघि चैतसम्म भुक्तानी गर्नुपर्ने साँवाब्याज असारसम्म तिरे हुने व्यवस्था पनि गरिसकेको छ ।

साना तथा मझौला उद्योग, पर्यटन र कोरोना भाइरसको प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुने गरी राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि परिमार्जन गर्ने भएको छ । यसले कोरोनाबाट धेरै प्रभावित क्षेत्रमा सहज ढंगले पुनर्कर्जा प्रवाह गर्न सकिने राष्ट्र बैंकको दाबी छ ।

प्रकाशित : १६ बैशाख २०७७, मंगलवार ११:४२