काठमाडौं । आन्तरिक तथा बाह्य उडान गर्न बुद्ध एयरले सुरक्षा निर्देशिका तयार पारेको छ। लकडाउनपछि हवाई उड्डयन सेवा पुनः सञ्चालनमा आउँदा अपनाइने सतर्कताका लागि बुद्ध एयरले त्यस्तो निर्देशिका तयार पारेको हो ।
अब आन्तरिक हवाई उडान सुरु भएपछि बुद्धका जहाजमा यात्रुले शौचालय प्रयोग गर्न पाउने छैनन् । पानीबाहेकका खानेकुरा बाँड्ने क्याटरिङको सेवा पनि दिइने छैन। संक्रमणको जोखिम कम नभएसम्मका लागि यस्तो गरिने भएको हो।
कम्पनीले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यात्रुलाई बुद्ध एयरको कार्यालय, कार्गो, टिकट काउन्टरका साथै विमानस्थल परिसरमा रहँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशिकामा उल्लेख गरेको छ । यात्रुले उडानका लागि अपनाइने पहिलो प्रक्रिया अर्थात फ्लाइट चेकइन काउन्टरदेखि ब्यागेज बुझ्ने समयसम्म अनिवार्य मास्क लगाउनै पर्नेछ।
उचित मूल्यमा विमानस्थलमै मास्क बिक्री गर्ने तथा चिसो भिजेको र च्यातिएको मास्क लगाएर उडानमा सहभागी हुने यात्रुलाई कम्पनीले उडानमा प्रतिबन्ध लगाउने प्रावधान बनाएको जनाएको छ।
कम्पनीका अनुसार रुघा, खोकी, जिउ दुख्ने लगायत लक्षण देखिएका यात्रुलाई हवाई यात्रामा प्रतिवन्ध लगाइनेछ। कम्पनीका अनुसार उडान सुचारु भएपछि तत्काल श्वासप्रश्वास रोगीहरुलाई उडान निषेध गरिनेछ।
संक्रमणबाट जोगिन कम्पनीले विमानस्थल, चेक इन काउण्टर, र्याम्प बस, टिकेटिङ काउण्टर, कार्गो लगायत स्थानमा एक आपसमा घटीमा १ मिटरको दूरी कायम गर्नुपर्ने कम्पनीले जनाएको छ।
Comment