वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर घटाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर घटाए




काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर घटाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ८० प्रतिशत रहेको उल्लेख छ ।

गत आर्थिक वर्षमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकको विवरणअनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको आठ महिनाको तुलनामा कर्जाको भारित औसत ब्याजदर घटेको हो ।

बैंकका अनुसार २०७५ को फागुनमा ९ दशमलव ६५ प्रतिशत औसत आधार दर रहेकामा गत फागुनमा ९ दशमलव ४५ प्रतिशत कायम भएको छ । यसले पनि औसत आधार दरमा झण्डै शुन्य दशमलव ११ प्रतिशतले कमी आएको छ ।

गत फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ८० प्रतिशत रहेको बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही महिनामा निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत रहेका थिए ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभिने प्रक्रिया सुरु भएसँगै गत फागुन मसान्तसम्म १८७ बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा सामेल भएका छन् ।

यसमध्ये १४२ संस्थाको इजाजत खारेज भएर ४५ संस्था कायम भएको छ । बैंकका अनुसार गत फागुनसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

प्रकाशित : १० बैशाख २०७७, बुधबार १५:३०