पर्यटन क्षेत्र बचाउन नयाँ योजना : एक महिना पर्यटन विदाको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पर्यटन क्षेत्र बचाउन नयाँ योजना : एक महिना पर्यटन विदाको तयारी



काठमाडौं । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरी योजना बनाइरहेको जानकारी दिएका हुन ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्र्तक्रियामा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने पनि उल्लेख गरे ।

संक्रमण रोकिएपनि तत्काल वाह्य पर्यटक आउने सम्भावना कम रहेकाले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुको विकल्प नरहेको उनको भनाइ छ ।

पर्यटन क्षेत्रको वित्तिय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरेको पनि उनले बताए ।
मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको पनि उल्लेख गरे ।

मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकोले अहिले तथ्यांक संकलनसंगै क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताए ।

नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असरबाट करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत दिपकराज जोशीले उल्लेख गरे ।
यसबाट पर्यटन क्षेत्रका १३ लाख बराबर जनशक्ती प्रभावित भएको उनको दाबी छ ।

प्रकाशित : ९ बैशाख २०७७, मंगलवार ११:०८