राष्ट्र बैंकमा २६ वर्ष बिताएका महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकमा २६ वर्ष बिताएका महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त




काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर रहिसकेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले नै उनलाई बोर्डको सिइओमा नियुक्त गरेको थियो । बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर बनेका छन् । यसअघि अर्थमन्त्री डाक्टर युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डाक्टर राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको थियो ।

यसैगरी बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई फेरि एकसाता लम्ब्याउने निर्णय गरेको छ । आगामी बैशाख ३ गतेसम्मका लागि लकडाउनको समय थपेको हो ।

कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप गरेको एक हप्ताको अवधि पनि भोलि सकिने भएकाले सरकारले आजै वैशाख ३ गतेसम्मका लागि समय थपेको हो ।

यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो ।

पाँच वर्ष अगाडि गभर्नर पदको लागि नाम सिफारिस भएपनि अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न सकेका थिएनन् ।

लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारी राष्ट्र बैंकमा २६ वर्ष बिताएका थिए । ५ वर्ष डेपुटी गभर्नर र कार्यकारी निर्देशकसम्म २१ वर्षसम्म राष्ट्र बैंकमा उनले काम गरे ।

खोटाङमा जन्मेका अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पूरा गरेका छन् । सन् १९९४ मा राष्ट्र बैंकका उपनिर्देशक रहेका अधिकारी छिटो बढुवा हुने कर्मचारीमा पर्छन् । चाटर्ड एकाउन्टेन्स पृष्ठभूमिबाट राष्ट्र बैंकको गभर्नर बन्ने उनी पहिलो व्यक्ति हुन् ।

प्रकाशित : २४ चैत्र २०७६, सोमबार २०:१५