६ महिनामा प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब ३० करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

६ महिनामा प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब ३० करोड



काठमाडाै । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । बैंकको यो नाफा गत बर्षको सोही अबधिको तुलनमा करिव २० प्रतिशतले बढी हो । गत वर्षको सोही अबधिमा बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा वृद्धि हुँदा बैंकको मुनाफा पनि बढेकोे हो । गत आर्थिक वर्षका सोहि अवधिको तुलनामा समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.०३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७७ करोड २२ लाख ३ हजार खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब १६ करोड ४६ लाख १० हजार खुद ब्याज आम्दानी गरेको छ ।

खुद ब्याज आम्दानीमा वृद्धि हुँदा बैंकको कुल संचालन आम्दानी र संचालन मुनाफा पनि बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड ४५ लाख संचालन मुनाफा आर्जन गरेको बैकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ८५ करोड ३८ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्त सम्ममा ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ३ अर्ब १९ करोड ६७ लाख ३१ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा २ अर्ब ४६ करोड ११ लाख १७ हजार छ भने शेयर प्रिमियममा ६ लाख ४४ हजार रहेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तमा ७७ अर्ब ४ करोड निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा ८० अर्ब ३५ करोड ३५ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी ८० अर्ब ९१ करोड ५४ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ७२ अर्ब ५४ करोड ५४ लाख कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा गत वर्षको दोस्रो त्रैमासमा १.५८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा सामान्य सुधार भएर १.४५ प्रतिशतमा झरेको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७६.५४ प्रतिशत रहेको छ । पुँजीकोष अनुपात १३.२३ प्रतिशत रहेको बैंकको कोषको लागत ७.६५ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.११ प्रतिशत र आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५८ रुपैयाँ ४१ पैसा र मुल्य आम्दानी अनुपात ९.६८ गुणा रहेको छ ।

प्रकाशित : १९ माघ २०७६, आईतवार १४:०७