काठमाडौं । नेपाल प्रहरी र नेपाल स्काउट बिच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्र्तगत समझदारी पत्रमा हस्ताक्षर भएको छ । लैनचौर स्थित नेपाल स्काउट कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्र्तगत हस्ताक्षर भएको हो ।
कार्यक्रममा नेपाल प्रहरी र नेपाल स्काउट बीच केन्द्रीय तहदेखि जिल्ला, पालिका स्तरसम्म ‘समुदाय–प्रहरी साझेदारी’ को अवधारणा अनुरुप साझेदारी र सहकार्य हुने बताइएको छ । नेपाल स्काउटका जिल्ला, पालिका स्तरका संरचनाहरु समुदाय–प्रहरी साझेदारीका जिल्ला र पालिका समितिका सदस्यको रुपमा रहने समझदारी पत्रमा उल्लेख छ । त्यसैगरि अपराध रोकथाम, सुरक्षा सचेतना अभिवृद्धिका सामुदायिक र विद्यालय सम्पर्क कार्यक्रमहरु संयुक्त रुपमा कार्यान्वयन गरिने समेत उल्लेख छ ।
समझदारी पत्रमा हस्ताक्षर पश्चात आफ्नो धारणा राख्नु हुँदै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले यो कार्यक्रम अत्यान्तै सान्दर्भिक रहेको हुँदा स्काउटबाट गर्नु पर्ने जस्तो सुकै सहयोग गर्न पनि नेपाल स्काउट तयार रहेको र स्काउट सबैले यो हाम्रो कार्यक्रमको हो भन्ने सोचेर अगाढी बढ्नु पर्नेमा जोड दिनुभयो । भण्डारीले आगामी दिनमा संचालन हुने सचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन, सडक सुरक्षा लगायतमा नेपाल प्रहरी र नेपाल स्काउटको सामूहिक प्रयास रहने बताउनुभयो । साथै नेपाल प्रहरीसँग समन्वय गरी स्वच्छ मनले असल र सुसंस्कृत नागरिक निर्माण गर्नका लागि सबै स्काउटका पदाधिकारी एवम् प्रतिनिधिहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नेमा विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी प्रमुख एवं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवका दिनमा समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने बताउनु भयो । उहाँले स्काउटसँगको सहकार्यमा केन्द्रदेखी स्थानीय तहसम्म सहकार्य गरेर अगाडी बढ्नु पर्ने आजको आवश्यकता रहेको हुँदा सबैको सक्रिय सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।
शान्ति सुरक्षा अमन चयन कायम राख्ने कार्यमा नेपाल प्रहरी र नेपाल स्काउटको साझा सहभागिता, समन्वय, र सहकार्यलाई अझ बढवा दिने उदेश्यकासाथ शुरुवात गरिएको प्रहरी प्रमुख खनालले बताउँनु भयो ।
कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले कार्यक्रमको अवधारणा र उदेश्यको बारेमा प्रकाश पार्नु भएको थियो ।
Comment