राष्ट्रिय सहकारी महासंघको चुनावः भागबन्डाले रडाको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय सहकारी महासंघको चुनावः भागबन्डाले रडाको



काठमाडाै । राष्ट्रिय सहकारी महासंघको आगामी कार्यकालको लागि भोली २५ गते हुने निर्वाचनमा ८० जनाको उम्मेदवारी परेको छ । संचालक समितिको अध्यक्षमा मिनराज कंडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्लको मात्र उम्मेदवारी परेपछि सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदकालागि रमेश पोखरेल, डिल्लीराम तिवारी र दक्ष पौडेलको उम्मेदवारी परेको हो ।

महासंघले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, लेखा समिति, सात प्रदेश संचालक महिला संचालक, खुला सहित गरी पच्चिस सदस्य संचालक तथा लेखापरिक्षण समितिको निर्वाचन गर्दै छ ।

यो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस समर्थक सहकारीकर्मीले भाग लगाएर महासंघ चलाउने भएकाछन् । तर प्यानल भन्दा बढी उमेदवार परेपछि उमेदवारी दिएकाहरुलाई नाम फिर्ता लिन दुवै दलले दवाव दिन थालेका छन् ।

दुई पार्टीको भागवण्डा अनुसार नेकपा समर्थितहरुलाई अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र लेखा समितिको संयोजक तथा एक जना सदस्य सहित १७ जना सञ्चालक, नेपाली कांग्रेस समर्थकलाई उपाध्यक्ष, ५ सञ्चालक र एक लेखा समिति सदस्य भागवण्डा गरेका छन् । नेकपालाई गरिएको भागवण्डामा पनि पूर्व नेकपा एमाले समर्थितलाई अध्यक्ष र उपाध्यक्ष तथा ९ सञ्चालक र एक लेखा सदस्य, पूर्व नेकपा माओवादी समर्थकलाई लेखा समितिको संयोजक, एक लेखा सदस्य र ५ सञ्चालक भागवण्डा गरेका छन् ।

नेकपा र नेपाली कांग्रेसका नेता तथा सहकारीकर्मीहरु यतिबेला आधिकारीक उमेदवारहरुलाई सघाउन र उमेदवारी फिर्ता लिनका लागि अन्य उमेदवारहरुलाई सम्झाउने, दवाव दिने काम गर्न थालेका छन् । भोली बिहान ९ बजेसम्म उमेदवारी फिर्ताको समय रहेको निर्वाचन समितिका संयोजक रामचन्द्र सिंखडाले जानकारी दिए। लेखा समितिको संयोजकमा धर्मदत्त देवकोटा र रविन्द्र केसीले उमेदवारी दिनु भएको छ ।
२२ सदस्यीय सञ्चालक समिति मध्ये ३ जना निर्विरोध भए पनि अन्य पदमा ६ दर्जनको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

दुई सय ६५ जनाले प्रतिनिधि लिएका महासंघमा सवै पदमा ८० जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले उम्मेदवारी फिर्ताकोलागि २५ गते बिहान नौ बजे सम्मको समय तोकेको छ ।

प्रकाशित : २४ पुष २०७६, बिहीबार २२:३२