सिजेएनमा नयाँ नेतृत्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिजेएनमा नयाँ नेतृत्व



काठमाडौं । नेपाल सहकारी पत्रकार समाजको नवौं वार्षिक साधारणसभाले सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि खिलानाथ दाहालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


समितिको उपाध्यक्षमा काजी श्रेष्ठ, सचिवमा तुलसी सुवेदी, सहसचिवमा अर्जुन खतिवडा, कोषाध्यक्षमा शर्मिला ठकुरी निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा गोविन्द गिरी र हेमन्तराज जोशी निर्वाचित भएका छन् ।


साधारणसभामा बोेल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रशाद बडालले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीले महत्वपूर्ण योगदान गर्ने बताए । उत्पादनशील क्षेत्रमा सहकारीलाई लगानी गर्न ऐन, कानुन बाधक भएको भन्दै बडालले केही नेपाल ऐनमार्फत गाठो फुकाउने तयारी भएको बताए । कृषि, उद्योग, शिक्षा, विद्युत, स्वास्थ्य लगायतका क्षेत्रमा सहकारीलाई लगानी गर्न विभिन्न ४७ वटा ऐन बाधक भएको भन्दै अफ्ठायारा फुकाउनुपर्ने बताए । सहकारीले गरिबी घटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । सहकारी कम्पनी र गैरसरकारी संस्था भन्दा फरक भएको भन्दै व्यवहारिकरुपमै सहकारी सिद्वान्तमै चल्नुपर्ने बताए ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले सहकारीले उत्पादन बढाएर कुल ग्राहस्थ उत्पादनमा योगदान बढाउनुपर्ने बताए । उत्पादन प्रणालीमा सहकारी नगई सुखै नभएको उनको भनाइ छ ।

सहकारीमार्फत समाजवादमा जान सकिने भएपनि विभिन्न नियम कानुन बाधक भएकाले सहकारीले फड्को मार्न नसकेको बताए । ‘सहकारीमैत्री कानुन आउनुपर्छ, अनिमात्र उत्पादनशील क्षेत्रमा सहकारी जान सक्छ ।’ उनले भने । वित्तीय सहकारीको व्यवस्थानका लागि छुट्टै बचत तथा ऋण ऐन आवश्यक भइसकेको उनको भनाइ छ । सहकारी संख्यात्मक मात्र नभई गुणात्मक विकास हुनुपर्ने उनले जोड दिए ।


नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमागाई, निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित : १९ पुष २०७६, शनिबार १८:३४