काठमाडौं । सरकारले उखुको खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गएको सोमबार (पुस ७ गते) बसेको बैठकले चालू आर्थिक वर्षका लागि उखुको खरिद मूल्य तोकेको हो ।
बैठकले उखुको न्यूनतम् लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरी चालू आर्थिक वर्ष २०७६र७७ को खरिद मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गर्न स्वीकृति प्रदान गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बिहीबार सन्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सो मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३ ओटा निर्णयहरु सार्वजनिक गरेका हुन् । जसअनुसार सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
बैठकले हातहतियार, खरखजानासम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यस्तै, साइप्रसको निकोसियामा कार्यरत् अवैतनिक नेपाली वाणिज्यदूत रामजीवन पन्जियारको कार्यकाल निर्णय भएको मितिले चार वर्ष थप गरिएको छ ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा किशोरविक्रम मल्ल, डा. हरिहर वस्ती, डा. सन्ध्या चापागाइँ, डा. सुप्रभात श्रेष्ठ र डा. प्रनित पोखरेल तथा रजिष्ट्रार पदमा डा. कृष्णप्रसाद अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
Comment