काठमाडौं । नेपाल प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा १ सय २३ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन् ।
चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरूलाई लिन उतैबाट चार्टड जहाज आउँदै छ । तर यसको आधिकारिक पुष्टी भइसकेको छैन । पर्यटक भिसामा नेपाल आएर नेपालमा गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चिनियाँ प्रहरीको अनुसन्धान ब्युरोको नेतृत्वमा नेपाल आएको चारजना चिनियाँ प्रहरीको समन्वयमा उनीहरुलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले काठमाडौंका बुढानीलकण्ठ, मनमैजु, सामाखुशी, बाँसबारीलगायत ठाउँमा छापा मारेर नियन्त्रणमा लिएको हो ।
चिनियाँ प्रहरी र नेपाल प्रहरीको टोलीले सो क्षेत्रका घरहरुमा घेरा हाली नियन्त्रणम लिएको हो । मनमैजु तार्केश्वर वडा नम्बर १० मा रहेको पाँच तले घरमा महिनाको १२ लाख पजास हजार र सोही वडाको अर्को तीन तले घरमा महिनाको १ लाख २० हजार दिने गरी घर भाडामा लिइ गैरकानुनी कृयाकलाप गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।
नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेकोले नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
सुराकीको आधारमा हिजो दिउँसो २ बजेदेखि सुरु गरेको सर्च अभियानका क्रममा आवश्यक प्रक्रिया पूरा गरी राति साढे १२ बजेसम्म उनीहरुलाई पक्राउ गरी काठमाडौंका विभिन्न प्रहरी वृतहरुमा लगिएको छ । पक्राउ पर्नेमा १ सय १३ जना पुरुष र ६ जना महिला रहेका छन् ।
पक्राउ गर्ने क्रममा एक तलाबाट हाम फालेका एक युवा घाइतेसमेत भएका छन् । पक्राउ परेकाहरुको साथबाट प्रहरी सयौं ल्यापटप र कम्युटर बरामद गर्नुका साथै अन्य विद्युतीय उपकरणहरु बरामद गरेको छ ।
उनीहरुले नेपालमा बसेर अन्तर्राष्ट्रिय स्तरमा साइबर क्राइमको धन्दा गर्ने गरेको आशंका प्रहरीको रहेको छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्था ह्याकिङमा चिनियाँहरुको संलग्नता बढ्दै गएको छ ।
डलर, सुन र मानव तस्करी
२०६० को आसपासदेखि नै नेपालमा चिनियाँहरूको अपराधमा संलग्नता देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । कुनैबेला रक्तचन्दन र वन्यजन्तुका अंगको ओसारपसारमा चिनियाँहरू संलग्न हुने गरेको भएपनि पछिल्लो समय डलर र सुनको अवैध कारोबारमा उनीहरूको संलग्नता बढेको छ ।
अहिले ह्याकिङ, मानव तस्करी तथा लागुऔषधमा समेत उनीहरूको संलग्नता देखिएको छ । अझै नेपाललाई आधारभूमि बनाएर उनीहरूले इन्टरनेटमार्फत समेत संगठित आर्थिक अपराध गर्दै आएका छन् । सरकारले चिनियाँलाई भिसामा सहुलियत दिएपछि उनीहरुको गतिविधि झनै अपराधिक बन्दै गएको बताइन्छ ।
बिजनेस भिसामा नेपाल बस्ने विदेशीहरूमा चिनियाँहरू सबैभन्दा धेरै छन् । पछिल्लो वर्ष उनीहरूको संख्या आश्चर्यजनक रूपमा बढेको प्रहरी अधिकारीहरू बताउँछन् । व्यापारको आवरणमा धेरैजसो डलरको अवैध कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । बिहेका नाममा नेपाली युवतीलाई चीनतर्फ लाने पनि गरेको पाइन्छ ।
Comment