अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियाेग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियाेग



एजेन्सी । अमेरिकी संसद्को न्यायिक समितिले औपचारिक रूपमा राष्ट्रपति डाेनाल ट्रम्पविरूद्धका महाभियोगसम्बन्धी अभियोगहरू सार्वजनिक गरेको छ। त्यसलाई राष्ट्रपतिविरुद्ध अघि बढाइएको महाभियोग प्रक्रियाको एउटा प्रमुख कदमको रूपमा हेरिएको छ। 

डेमोक्रयाटहरूको नियन्त्रण रहेको समितिका प्रमुख जेरोल्ड न्याडलरले सार्वजनिक गरेको पहिलो बुँदामा राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ। दोस्रोमा संसद्को गतिविधिमा बाधा पुर्‍याएको आरोप लगाइएको छ।  राष्ट्रपति ट्रम्पमाथि घरेलु राजनीतिक कारणले युक्रेनलाई दिइने सहायता स्थगित गरेको पनि आरोप लगाइएको छ। राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको बताउँदै महाभियोग प्रकियालाई ‘पागलपन’को सङ्ज्ञा दिएका छन्।

संसद्को न्यायिक समितिले यसै हप्ताको अन्त्यतिर ती बुँदाहरू अनुमोदन गरे त्यो संसद्को तल्लो सदनमा मतदानका लागि प्रस्तुत हुनेछ। डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदनबाट ती बुँदा अनुमोदन भए भने रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ अघि बढ्नेछ। सम्भवत: त्यो प्रक्रिया ज्यानुअरी महिनामा सुरु हुने ठानिएको छ।

महाभियोग अघि बढाउने कदमको बचाउ गर्दै न्याडलरले संवाददाताहरूसँग सन् २०२० को राष्ट्रपतीय चुनावको निष्ठामा नै प्रश्न उठेको बताएका थिए। उनले राष्ट्रपति ट्रम्पले आफूलाई कानुनभन्दा माथि ठान्ने गरेको उल्लेख गरे। ‘हामी स्पष्ट हुनैपर्छ कोही पनि, राष्ट्रपति पनि कानुनभन्दा माथि हुँदैनन्।’

अमेरिकाको इतिहासमा दुईजना राष्ट्रपतिलाई महाभियोगको प्रक्रिया अघि बढाइएको थियो। सन् १८६८ मा एन्ड्र्यु जोनसन र सन् १९९७ मा बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए। तर कोही पनि हटाइएनन्। 

प्रकाशित : २५ मंसिर २०७६, बुधबार १४:२८