बढ्दै कृषि बीमाको व्यवसाय : पहिलो त्रैमासमा साढे २८ करोड बीमाशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बढ्दै कृषि बीमाको व्यवसाय : पहिलो त्रैमासमा साढे २८ करोड बीमाशुल्क



काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा कृषि (बाली तथा पशुपक्षी) बीमाको व्यवसाय २२ प्रतिशतले बढेको छ । उक्त अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कृषि बीमाबाट रू. २८ करोड ५३ लाख बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको भन्दा रू. ५ करोड १५ लाखले बढी हो । गत आवको समीक्षा अवधिमा कृृषि बीमामार्फत रू. २३ करोड २८ लाख बीमाशुल्क संकलन भएको थियो ।

चालू आवको समीक्षा अवधिमा संकलन भएको बीमाशुल्कमध्ये पशुपक्षी बीमाअन्तर्गत रू. २६ करोड ५८ लाख र बाली बीमाअन्तर्गत रू. १ करोड ९५ लाख रहेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । संकलित कुल बीमाशुल्कमध्ये रू. २१ करोड ४० लाख नेपाल सरकारबाट अनुदानस्वरूप प्राप्त भएको हो । कृषिबीमाको बीमाशुल्कमा ७५ प्रतिशत अनुदान सरकारले दिनुपर्ने व्यवस्था छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

आव २०७३/७४ को पहिलो त्रैमासमा कृषि बीमामार्फत रू. २१ लाख मात्र बीमाशुल्क संकलन भएको थियो । तर, चालू आवको समीक्षा अवधिसम्म आउँदा कृषिबीमाको व्यवसाय निकै फराकिलो भएको देखिन्छ । समितिको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा कृषिबीमाको अंश करीब ५ प्रतिशत रहेको छ । समितिले २०६९ सालदेखि कृषिबीमा कार्यक्रम शुरू गरे पनि शुरूका वर्षहरूमा यस बीमाको व्यवसाय निराशाजनक नै थियो ।

समितिले सबै जिल्लामा कृषिबीमाको सेवा पुर्‍याउने गरी कम्पनीहरूलाई जिल्ला विभाजन गरी कार्यक्षेत्र तोकेको छ । साथै, स्थानीय तहसँग सहकार्य गरेर बीमासम्बन्धी अन्तरक्रिया पनि गर्दै आएको छ । त्यसले पनि कृषिबीमाको व्यवसाय बढेको समितिले बताएको छ । यसैगरी कृषि बीमासम्बन्धी नयाँ प्रडक्टहरू ल्याइएकाले पनि व्यवसाय बढेको समितिको भनाइ छ ।

समितिकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले पछिल्लो समय कृषि बीमासम्बन्धमा आम किसानको चेतना बढ्दै जाँदा पनि यसको व्यवसाय बढेको बताइन् । उनले भनिन्, ‘बाली बीमाको अझै विस्तार हुन बाँकी छ । तर, पशुपक्षी बीमातर्फ भने किसानको आकर्षण बढ्दै गएको छ, सरकारले अनुदान नदिए पनि उनीहरू बीमा गर्न तयार हुनेजस्तो स्थिति सृजना भएको छ ।’

प्रकाशित : १८ मंसिर २०७६, बुधबार ०७:४५