जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता राख्ने करदाताहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले करदाताका व्यावसायिक फर्महरूको नामको बैंक खाता रोक्का गर्नुका साथै जग्गा रोक्का गर्न समेत सम्बन्धित कार्यालयहरूमा पत्राचार गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी ४ जिल्लाका ५७ करदातालाई कारबाही गरिएको कार्यालयका प्रमुख जयबहादुर भण्डारीले जानकारी दिए । बक्यौता कर असुलीका लागि निरन्तर ताकेता गर्दा समेत करदाताहरूले भुक्तानी गर्न अटेर गरेकाले ती फर्म र फर्मको नाममा रहेका नेपालभित्रका सबै बैंक तथा वित्तीय संस्थाहरूमा बैंक खाताहरू रोक्का गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग काठमाडौंलाई पत्राचार गरिएको उनले बताए ।
‘बक्यौता राख्ने करदातालाई कानूनी कारबाही गरी कर असुल उपर गर्नुपर्ने कानूनी प्रावधानअनुसार नै कारबाही अगाडि बढाइएको छ,’ उनले भने, ‘गत वर्ष पनि करदातालाई यसरी नै कारबाही गर्दा केहीले रकम बुझाएर रोक्का गरिएको बैंक खाता तथा जग्गा फुकुवा गराएका थिए ।’ गत वर्ष २०७५/७६ मा कारबाहीपश्चात् ७ करोड रुपैयाँ राजस्व असुली भएको उनले जानकारी दिए । उनका अनुसार हाल विभिन्न निकायको ४ करोड ३५ लाख रुपैयाँ बक्यौता रहेको छ । यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।





Comment