निर्यात बढाउने सरकारी नीति हल्लामै सीमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निर्यात बढाउने सरकारी नीति हल्लामै सीमित



काठमाडौं । उत्पादित वस्तुको ६० प्रतिशत निर्यात गर्नुपर्ने कसिलो सरकारी नीतिका कारण भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) बाट आधा दर्जन उद्योग बाहिरएका छन्। आयात उच्च दरले वृद्धि हुन थालेपछि सरकारले निर्यात बढाउने उद्देश्यले सेज स्थापना गरेको हो। तर डेढ दशकसम्म पनि आवश्यक पूर्वाधार निर्माण नगर्ने तर उल्टै निर्यातका लागि कठोर नीति ल्याएपछि उद्योगी व्यवसायी सेजमा उद्योग स्थापना गर्न हच्किएका हुन्। भैरहवास्थित सेजबाट बाहिरिने उद्योगमा न्युमेटल इन्डस्ट्रिज प्रालि, सिद्धार्थ पाइप प्रालि, सिद्धार्थ पेट प्लास्ट प्रालिका दुई उद्योग र सुगम नानो हर्बल प्रालि छन्।

अहिले मुलुकको कुल व्यापार घाटा प्रतिमहिना एक खर्ब रुपैयाँ हाराहारी छ। निर्यात भने १० अर्ब रुपैयाँ पनि पुगेको छैन। यस्तो अवस्थामा निर्यातमूलक उद्योगलाई सहुलियत दिएर प्रोत्साहन गर्नुपर्नेमा उल्टै सेजबाट व्यवसायी बाहिरिनुले नराम्रो संकेत गरेको छ। सेजबाट बाहिरिने अधिकांश उद्योगी व्यवसायीले सरकारले सेज स्थापना गरेर निर्यात बढाउने हल्ला गरे पनि त्यसअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन्।

ती उद्योग करिब एक वर्ष भाडा तिरेपछि सेजबाट बाहिरिने निर्णयमा पुगेका हुन्। न्युमेटल इन्डिस्ट्रिज प्रालिले करिब एक अर्ब रुपैयाँ लगानीमा स्टिल सामान बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको थियो। उत्पादनको प्रमुख हिस्सा स्वदेशी बजारमा बिक्री गर्न नपाउने भएपछि उद्योग स्थापना नगर्ने निर्णयमा पुगेको प्रालिका प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए। ‘सेजमा उत्पादन गरेको ठूलो हिस्सा विदेशी बजारमा बिक्री गर्नुपर्ने नीति व्यावहारिक भएन,’ गुप्ताले भने, ‘विदेशबाट कच्चा पदार्थ ल्याएर विदेश नै निर्यात गर्न सम्भावना नदेखेपछि सेजबाट बाहिरियौं।’ वस्तु स्वदेशी बजारमा बिक्री गर्न सके आयात प्रतिस्थापन हुने उनको दाबी छ। ‘आयात प्रतिस्थापन भनेको निर्यात गरेसरह हो,’ उनले भने, ‘तर सरकारको नीति यस्तो नभएपछि उद्योग लगाएनौं।’ यो समाचार आजको नागिरक दैनिकमा प्रकाशित छ ।

प्रकाशित : ४ मंसिर २०७६, बुधबार ०८:१३