यी हुन लाभांश प्रस्ताव गर्ने बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यी हुन लाभांश प्रस्ताव गर्ने बैंक



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत २७ मध्ये हालसम्म १५ वटा वाणिज्य बैंकले गतआवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । अझै १२ वटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गर्न बाँकी छ ।

केही बैंकले साधारणसभाबाट लाभांश पारित गरी सेयरधनीहरुलाई वितरण समेत गरिसकेका छन् ।

वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया, सिटिजन्स, कुमारी, बैंक अफ काठमाण्डू, सानिमा बैंक र माछापुच्छे बैंकले साधारणसभाबाट लाभांश पारित गरी सेयरधनीलाई वितरण गरेका छन् ।

हालसम्म सिटिजन्स बैंक, सानिमा, एनआइसी एसिया, जनता, माछापुच्छ्रे, सनराइज, सिद्धार्थ, कुमारी, बैंक अफ काठमाण्डू, मेगा, नेपाल एसबिआई बैंक, ग्लोबल आईएमई, प्रभु, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डले गतआवको लाभांश प्रस्ताव गरेका छन् ।

१५ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैकले चुक्ता पुँजीको १२.७५ प्रतिशत बोनस र १२.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै सबैभन्दा कम कुमारी बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंकले १० प्रतिशत बोनस र १५.२६ प्रतिशत नगद, सानिमा बैंकले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद, एनआईसी एशिया बैंकले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद, बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद, माछापुच्छे बैकले ५ प्रतिशत बोनस र ११ प्रतिशन नगद, सनराइज बैंकले १० प्रतिशत बोनस र ५.०८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । त्यस्तै सिटिजन्स बैकले ३ प्रतिशत बोनस र १२ प्रतिशत नगद, जनता बैंकले ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद, मेगा बैंकले ११.७५ प्रतिशत नगद लाभांश, नेपाल एसविआई बैंकले ६ प्रतिशत बोनस र १०.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

त्यस्तै प्रभु बैंकले १६ प्रतिशत बोनस र ०.८४२१ प्रतिशत नगद लाभांश, एभरेष्ट बैंकले ५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छन् ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्विकृती र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।

विगतका वर्षहरुमा चुक्तापूँजी बढाउने बाध्यतामा रहेका बैंकहरु बोनस दिए पनि अघिल्लो वर्षदेखि भने बैंकहरुले नगद लाभांशलाई जोड दिने गरेका छन् । लाभांश घोषणा गर्ने १५ बैंकमध्ये अधिकांश बैंकले लाभांशलाई प्राथमिकता दिएका छन् । कुमारी र प्रभु बैंकले मात्रै बोनसमा लाग्ने करका लागि नगद प्रस्ताव गरे पनि बाँकी १३ बैंकले नगद लाभांशलाई समेटेका छन् ।

हालसम्म पनि सिभिल, नविल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एनएमबी, कृषि विकास, नेपाल बैंक, प्राइम, एनसीसी, लक्ष्मी, सेञ्चुरी र नेपाल बंगलादेश बैंकले लाभांश घोषणा गरेका छैनन् ।

कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम चालू आर्थिक वर्षको ३ महीनाभित्र वार्षिक लेखापरीक्षण सम्पन्न गरी ६ महीनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्नेछ । कम्पनीले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा भएको व्यवस्था अनुसार साधारणसभाले पारित गरी बोनस शेयर निष्कासन गर्ने निर्णय गरेमा ३ दिनभित्र धितोपत्र दर्ताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ । नगद लाभांशको सम्बन्धमा भने कुनै व्यवस्था नभएकाले कम्पनीले साधारणसभाबाट पारित भएको भोलिपल्टदेखि नै शेयरधनीको खातामा जम्मा गर्न सक्नेछ ।

प्रकाशित : ११ कार्तिक २०७६, सोमबार ०९:०९