दशैँ अघि बिपी राजमार्ग खुल्दैनः यातायात मन्त्रालय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दशैँ अघि बिपी राजमार्ग खुल्दैनः यातायात मन्त्रालय



काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैँ अगाडी कुनैपनि हालतमा बिपी राजमार्ग खुलाउन नसकिने निष्कर्ष निकालेको छ । नेपाली सेनाको हेलिकप्टरबाट स्थलगत निरीक्षण गरेर फर्किएपछि मन्त्रालयले दशैँ अगाडी बिपी राजमार्ग खुलाउन नसकिने निष्कर्ष निकालेको हो ।

भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले दशैँ अगाडि बिपी राजमार्ग खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा मन्त्रालय पुगेको जानकारी दिए ।

बिपी राजमार्गको चौकीडाँडा–कालढुङ्गा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको सो ठाउँमा पहाड काटेर तत्काल सडक बनाउन सकिने अवस्था नरहेको सचिव शर्माले जानकारी दिएका हुन् ।

‘अस्थायी रुपमा पनि यही दिनबाट सार्वजनिक गाडी चल्छन् भन्ने अवस्था छैन’ उनले भने ।

उनका अनुसार राजमार्ग पूर्ण रुपमा चल्न सक्ने अवस्था नभएपछि पूर्वबाट आउने गाडीहरु बिपी राजमार्ग हुँदै रामेछापको सित्खासम्म आउने र त्यहाँबाट पुल तरेर रामेछापको मन्थली र दोलखाको चरिकोट हुँदै काठमाडौँ आउने विकल्प खोजिएको थियो । तर उक्त विकल्प पनि साह्रै घुमाउने हुने भएपछि यसमा जोडबल लगाइएको छैन ।

सचिव शर्माका अनुसार हालका लागि सित्खाबाट मध्यपहाडी राजमार्ग हुँदै दोलालघाट आउने र त्यहाँबाट अरनिको राजमार्गबाट काठमाडौँ आउने रुट तय गरिएको छ ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले पनि बिपी राजमार्गमा अलपत्र गाडीहरुलाई दशैँ अगाडि नै सिन्धुली पठाउन वा काठमाडौँ ल्याउन विभिन्न उपायको खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित : १७ आश्विन २०८१, बिहीबार १५:५८