सहकारीले घरबार विहिन बनाएको कथा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीले घरबार विहिन बनाएको कथा



काठमाडौं । २०५८ सालमा फेवातालको सिरान चापाकोटका किसान बलराम अधिकारीले घरमै सानो किराना पसल खोल्ने योजना बनाउँदा उनीसँग पैसा थिएन। नजिकै बैंक वा सहकारी पनि थिएनन्।

एकजना छिमेकीले पोखरा सभागृह चोकको नेपाल सहकारी संस्था लिमिटेडबाट ऋण लिएर गाईभैंसी पालेको देखेपछि बलराम पनि दुई घण्टा पैदल हिंडेर सहकारीको कार्यालयमा पुगे। उनको चार रोपनी घरखेत धितो राखेमा ऋण दिन सहकारी तयार भयो।

आफ्नो भएको सबै घरखेत धितो राखेर उनले एक लाख रुपैयाँ ऋण लिए। यसमा १० प्रतिशत सेवा शुल्क र ५ हजारको सेयर लिनुपर्ने सहकारीको सर्त पूरा गर्दा उनको हातमा ८५ हजार रुपैयाँ प¥यो। द्वन्द्वको बेला थियो, पसल राम्रो चलेन।

बैंकमा ब्याज बढिरह्यो, तिर्ने स्रोत भएन। ऋण तिर्न नसकेपछि अधिकारीले पनि त्यसै गरे जस्तो लाखौं नेपाली युवाले गर्छन्। उनी बिदेसिए। मलेसियाबाट पठाएको पैसाले पत्नी पार्वती अधिकारीले दुई किस्ता तिरिन्। अर्को किस्ता तिर्न जाँदा सभागृह चोकको सहकारी नै गायब थियो।

नेपाल सहकारी अचानक गायब भएकोमा बलराम र पार्वतीमा चिन्ता थपियो। तर नेपाल सहकारीबाट ऋण लिने अधिकारी परिवार एक्लो थिएन।

तीन घरपरका कुलप्रसाद पराजुलीले पनि यही सहकारीबाट आफ्नो सबै १० रोपनी घरखेत धितो राखेर गाई पाल्न दुई लाख रुपैयाँ ऋण लिएका थिए।

अधिकारी र पराजुलीसहित यहाँका ६ किसानले २०५७ देखि २०६० सालभित्रमा आफ्नो खेत, घरबारीसमेत जम्मा ३७ रोपनी जग्गा धितो राखेर गाईभैंसी पाल्न र सानोतिनो व्यवसाय गर्न ९ लाख रुपैयाँ ऋण लिएका थिए।

बलराम र कुलप्रसादबाहेक देवीरमण चापागाईंले ३ लाख र कृष्ण अधिकारी, खड्गराज सुनार र गोपालप्रसाद पराजुलीले १–१ लाख रुपैयाँ ऋण लिएका थिए।

सहकारीको कार्यालय कता गयो भन्ने थाहा नपाउँदा उनीहरूमा आफ्नो पुख्र्यौली जायजेथा के हुने हो भन्ने चिन्ता बढ्दै गएको थियो । १४ वर्षपछि काठमाडौंको बागबजारमा नेपाल सहकारी संस्था नाम गरेको कार्यालय भेटिएको खबर आयो।

किसानहरूमा ऋण तिरेर आफ्नो घरजग्गा फिर्ता लिन पाइने आशा पलायो। उनीहरूले नेपाल सहकारी किन पोखराबाट काठमाडौं आयो होला भन्नेचाहिं थाहा पाएनन्।

उनीहरूले सम्पर्क गरेपछि नेपाल सहकारीको काठमाडौं कार्यालयका कर्मचारीले ६ जनाले सँगै ऋण तिरे जग्गा फिर्ता हुने आश्वासन दिए। ६ मध्ये २ वा ३ जना कुरो बुझ्न पाँचपटकसम्म काठमाडौं धाए। के गर्ने, कसो गर्ने, अलमलमै महिनौं बित्यो।

२८ माघ २०७५ मा ६ जना नै काठमाडौं आए र तिर्नुपर्ने बाँकी हिसाब मागे। नेपाल सहकारीका महाप्रबन्धक राकेश सिंहले पुरानो कर्जाको हिसाब भनेर ६ जनालाई छुट्टाछुट्टै चिट दिए। त्यस अनुसार कुल २५ लाख रुपैयाँ तिर्नुपर्ने देखियो। सिंहको भनाइ उद्धृत गर्दै कुलप्रसादले भने, ‘सिंहले १० लाख रुपैयाँ तुरुन्तै उनको खातामा राखिदिनू र बाँकी १५ लाख पछि दिनू भनेका थिए।’

पोखरा पुगेर व्यक्तिको खातामा रकम हालिदिँदा समस्यामा परिएला कि भनेर उनीहरूले सहकारीको खाता नम्बर माग्न फेरि फोन गरे। तर सिंहले सहकारीका सबै खाता बन्द भएकोले उनकै खातामा रकम हालिदिन भने। किसानले सहकारीका सबै खाता किन बन्द भए होलान् भनेर सोधेनन्।

शंका लागेर पोखरामै बस्ने नेपाल सहकारीका अध्यक्ष नवीन पुनलाई भेट्न गए। नवीन पुन राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन नेता उत्तम पुनका छोरा हुन्। उत्तमका कारणले त्यति बेला नेपाल सहकारी र नेपाल विकास बैंक दुवै समस्याग्रस्त भएका थिए।

नवीनले किसानलाई १५ लाख तिरे हुन्छ भने। सिंहले २५ लाख चाहिन्छ भनेको र नवीनले १५ भए हुन्छ भनेपछि किसानहरू झन् अन्योलमा परे। तर उनीहरूलाई जसरी पनि घरखेत जोगाउनु थियो।

उनीहरूले सिंहलाई फोन गरेर उनको खातामा रकम हालिदिन लागेको सुनाए। त्यस बेला भने सिंहले ‘सहकारीको बोर्ड बैठक बस्दैछ बोर्डले निर्णय गरेपछि मात्र रकम हाल्नू’ भने।

किसानहरू बोर्डको निर्णय पर्खेर बसे। उता सहकारीले ऋणीलाई थाहै नदिई राजधानी दैनिकमा सूचना निकालेर किसानको जग्गा लिलाम गरिसकेछ।

‘कोही किन्न नआएको’ भनेर सहकारीले आपसी सहमतिमा ३० लाख रुपैयाँमा ओम अस्पतालका डाक्टर प्रेम पुनको एकल स्वामित्वको कम्पनी (खयर भजनी इन्टरप्राइजेज) लाई ६ जना किसानको सबै जग्गा बिक्री गर्ने निर्णय गरेछ। जग्गा पास गरिदिन सहकारीका कर्मचारी वडाबाट तिरो तिरेर फर्किएपछि मात्रै किसानले थाहा पाए, जग्गा त अर्कैले लगिसकेछ।

किसानले हतारहतार पोखरा महानगरपालिका, मालपोत कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी गरेर जग्गा पास हुनबाट रोके। यसपछि सहकारीले फेरि किसानसहित सबैलाई विपक्षी बनाएर उच्च अदालत पोखरामा जग्गा पास गर्न पाउनुपर्ने आदेश मागेर मुद्दा हाल्यो।

अदालतले ३१ असार २०७६ मा महानगरपालिका वडा नं. २३ लाई ‘निवेदक र विपक्षीहरूमध्येको गोपाल पराजुलीसमेतको आपसी छलफलबाट निवेदकले आफ्नो निवेदनमा उठाएको विषयमा समाधान निस्कने स्थिति बाँकी नै रहे भएको हुँदा समन्वय गराई समाधान गर्न’ आदेश दियो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित : ७ कार्तिक २०७६, बिहीबार ०९:१८