पाल्पाका तीन सहकारी एकीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पाल्पाका तीन सहकारी एकीकरण



काठमाडौ । बगनासकाली गाउँपालिकामा बलियो पूँजी र उचित व्यवस्थापनका लागि फरक पहिचानका सहकारी एकीकरण भएका छन् । फरक पहिचानसहित स्थापना भएका पूँजी र व्यवस्थापन कमजोर रहेका सहकारी संस्थाबीच एकीकरण गरिएको छ । तीन सहकारी एकीकरण भएपछि गाउँपालिकास्तरीय सहकारी बनेको हो ।


वडा नं ८ स्थित बराङ्दी स्वावलम्बन विकास बचत तथा ऋण सहकारी, महिला जागृति बराह बहुउद्देश्यीय सहकारी र वडा नं ९ स्थित सिर्जना सहकारी संस्था एकीकरण भएका हुन् । गाउँपालिकाबाट एकीकरणका लागि सैद्धान्तिक सहमतिअनुरुप एकीकरण गरिएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसालले बताउनुभयो । सहकारी एकीकरणले पूँजी बलियो र प्रभावकारी व्यवस्थापन हुने उहाँको विश्वास छ ।


एकीकरणपछि सहकारी सदस्यमा आर्थिक पहुँच विस्तार हुनेछ । एकीकरणपछि नयाँ बनेको सहकारीको नाम बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था राखिएको छ । सहकारीका शेयर सदस्यको सङ्ख्या एक हजार २२५ पुगेको छ । शेयर पूँजीतर्फ रु १७ लाख, बचततर्फ रु ३८ लाख र रु दुई करोड ८० लाख ऋण लगानी छ ।


गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गरिबी हटाउन र व्यावसायिक बनाउन सहकारीको ठूलो भूमिका रहेको बताउनुभयो । ससाना पूँजीमा सञ्चालित सहकारी एककीरण गरी नमूना काम भएको उहाँको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले सहकारीले गरीब तथा विपन्न समुदायका नागरिकको जीवनस्तर सुधार ल्याउन सफलदायी हुने विश्वास व्यक्त गर्नुभयो । जिल्ला सहकारी सङ्घका अध्यक्ष धु्रवराज अधिकारीले सहकारीको मूल्य र मान्यताअनुसार नै सहकारीको एकता र उचित व्यवस्थापन गर्न खाँचो रहेको बताउनुभयो ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार ०८:०५