पेन्सन लिन गएका वृद्धलाई बैंकले मृत्युदर्ता प्रमाणपत्र थमाइदिएपछि… « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पेन्सन लिन गएका वृद्धलाई बैंकले मृत्युदर्ता प्रमाणपत्र थमाइदिएपछि…



सरकारी कर्मचारीको लापरवाहीका कारण जीवित व्यक्तिलाई नै मृत घोषित गरिएको घटना सार्वजनिक भएको छ । ७ जना वृद्धहरुलाई जीवित छँदै मृत घोषित गरिएको हो । भारतको उत्तर प्रदेश राज्यको बदायूँ जिल्लामा गाउँ पञ्चायतका सचिवले सरकारी रेकर्डमा ती ७ जनाको मृत्यु भइसकेको रिपोर्ट चढाएका थिए । आज तकको समाचार अनुसार सातै जना वृद्धहरु आफू जीवित भएको प्रमाणसहित जिल्ला मजिस्ट्रेटकहाँ उजुरी लिएर पुगेपछि मजिस्ट्रेटले गाउँ पञ्चायतका सचिवलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

जिल्लाको हुसैनपुर करौतिया गाउँका निशार हुसैन, अफसर, अलाउद्दीन, चम्पा, मिराजन, अकिला र अफसर गरी ७ जनालाई गाउँ पञ्चायतका सचिव नवीन कुमार माहेश्वरीले सरकारी रेकर्डमा मृत घोषित गरेका हुन् । सातै जनाले यो कुरा तब थाहा पाए जब उनीहरु बैंकमा पेन्सनको पैसा लिन पुगेका थिए । बैंकमा जाँदा उनीहरुले थाहा पाए कि समाज कल्याण परिषदको तर्फबाट उनीहरुको खातामा पैसा आएकै छैन किनकि विभागमा त उनीहरुको मृत्यु भइसकेको रिपोर्ट पठाइएको थियो ।

बैंकमा आफ्नो मृत्यु भइसकेको रेकर्ड भेटिएपछि उनीहरु पूर्व प्रधान शहंशाह आलमकहाँ गए । आलमले विकास भवन गएर रेकर्ड हेर्दा सातै जनाको मृत्यु भइसकेको रेकर्ड भेटियो । त्यपछि सातैजना डिएमकहाँ पुगे । डिएम दिनेश कुमारले समाज कल्याण विभागका अधिकारीसँग सोधपुछ गर्दा कागजी रुपमा सातै जनाको मृत्यु भएको पुष्टि भयो । डिएमले पंचायतका सचिवलाई कडा कारवाही गर्न निर्देशन दिँदै यो घोर लापरवाही भएको र यसलाई सहन नसकिने बताए ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १३:२९