डेंगु परीक्षणका नाममा रकम असुल्दै अस्पताल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डेंगु परीक्षणका नाममा रकम असुल्दै अस्पताल



काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् ।

अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् ।

मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ ।

हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

महाशाखाका निर्देशक डा.लालले कुन व्यक्तिमा कुन प्रकारको भाइरस हो भनेर कीटले थाहा नहुने भन्दै डायग्नोसिसका लागि कीट आवश्यक नपर्ने बताए ।

उनले भने, ‘ह्वाइट ब्लड सेल काउन्ट र टोटल प्लेटलेट काउन्टकै आधारमा डेंगुको पहिचान गर्न सकिन्छ । यस्तै, लक्षणका आधारमा व्यक्तिको उपचार प्रक्रिया अगाडि बढ्छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छापिएके छ ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार ०७:१८