मंसिर ५ र ६ मा ऊर्जा सम्मेलन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मंसिर ५ र ६ मा ऊर्जा सम्मेलन हुने



काठमाडाै । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले आगामी मंसिरमा साताैं ऊर्जा सम्मेलन २०१९ आयोजना गर्ने भएको छ । इपानले आइतबार पत्रकार सम्मेलन गरेर मंसिर ५ र ६ गते ऊर्जा सम्मेलन गर्ने घोषणा गरेको हो । ऊर्जा उत्पादनमा विदेशी अनुभव र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले ‘पावरिङ दि एशियन सेन्चुरी’ भन्ने नारासहित सम्मेलन गर्न लागिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए ।

ऊर्जा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारवालालाई एकै स्थानमा भेला गरेर अनुभव आदान–प्रदान गर्न सम्मेलन महत्वपूर्ण हुने उनले बताए । ‘ऊर्जा क्षेत्रमा काम गरिरहेका सरोकारवालालाई एकै स्थानमा भेला गरेर प्रविधि आदान–प्रदान गर्न सम्मेलन गर्दैछौं,’ उनले भने, ‘देशको ऊर्जा क्षेत्रको नीतिगत सुधार गर्न पनि सम्मेलन फलदायी हुने अपेक्षा छ ।’ सम्मेलनमा नेपालको विद्युत विकास, अन्तरदेशिय व्यापार तथा प्रसारण पूर्वाधार, लगानी, बजारको विस्तार, दिगो तथा सहभागितामुलक जलविद्युत विकासलगायतका विषयमा छलफल हुने सम्मेलनमा साढे ७ सय बढीले सहभागिता जनाउने इपानले जनाएको छ ।

२दिने सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ, सरकारी संघ सस्थाका उच्च अधिकारी, निजी तथा गैह्र सरकारी क्षेत्रका सरोकारवालाको उपस्थितिमा नीतिगत बहस, अनुभव आदानप्रदान हुनेछ । सम्मेलनबाट दिगो ऊर्जा विकासको सम्भावना, बाटो पहिल्याउने ठोस सुझाव र मार्ग चित्र प्राप्त हुने इपानको विश्वास छ । यसअघि २०७३ मंसिर ३० र पुस १ गते छैटौं सम्मेलन भएको थियो ।

यसअघि सन् २००६, २००७, २००८, २०१२ र २०१३ मा पनि सम्मेलन भएको थियो । सन् २००६ र ०७ मा भएको सम्मेलनले ‘जलविद्युतमा लगानीको अवसर’ भन्ने मुद्दालाई प्राथमिकता दिएको थियो । सन् २००८ को सम्मेलन आयोजना निर्माण तथा विद्युत उत्पादन गर्नुपर्नेमा केन्द्रित रह्यो । यसैगरी, सन् २०१२ को सम्मेलनले स्वदेशी र विदेशी लगानीकर्ताबीचको सम्बन्ध तथा लगानी आदानप्रदानमा जोड दिएको थियो । सन् २०१३ को सम्मेलनमा ‘जलविद्युत उत्पादनमा हतार’ भन्ने नारा राखिएको थियो । सरकार तथा लगानी बोर्डले २०७५ चैत १५ र १६ गते लगानी सम्मेलन गर्यो । यो सम्मेलनमा निजी ऊर्जा उत्पादकलाई कम महत्व दिएको भन्दै ऊर्जा व्यवसायी रुष्ट भएका थिए ।

प्रकाशित : १५ असार २०७६, आईतवार १५:५३