बेरोजगारीको समस्या समाधान गर्न कृषिको आधुनिकीकरणमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बेरोजगारीको समस्या समाधान गर्न कृषिको आधुनिकीकरणमा जोड



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न कृषिको आधुनिकीकरणमा जोड दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा यहाँ आज आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै उन्ले कृषिको आधुनिकीकरणसँगै बढीमात्रामा रोजगारीको अवसर सिर्जना हुने र बेरोजगारीको समस्या हल हुने बताए ।

नेपालको दुई तिहाइको जनसङ्ख्या अझै पनि परम्परागत कृषिमा अल्झिएको उल्लेख गर्दै उनले पुराना ढाँचाको कृषि उत्पादन प्रणालीले अवसर सिर्जना नगर्ने बताए। प्रधानमन्त्रीले भने, “नेपालको कृषि पुरानो ढाँचाको छ, त्यसले अवसर सिर्जना गर्दैन, उत्पादन सानो परिणाममा छ, जग्गा, जमीन साना छन्, उत्पादन ठूलो परिणाममा छैन, त्यसले बेरोजगारी समस्या समाधान गर्न सहयोग गरेको छैन ।”

नेपालमा प्रशस्त कृषियोग्य भूमि भए पनि युवा बेरोजगार रहेको उल्लेख गर्दै उनले आधुनिक कृषिकरण, व्यवसायीकरण र औद्योगिकीकरणतर्फ लगेर स्थानान्तरण गरिनुपर्ने बताए । प्रधानमन्त्रीले भने, “बेरोजगारी समस्या हल गर्न कृषिमा अल्झेका मानिसलाई आधुनिकीकरणमा अभ्यस्त गर्न जरुरी छ । नयाँ श्रमको क्षेत्रमा स्थानान्तरण गर्दै जानुपर्छ । कृषिबाट उद्योग सेवा, व्यापार, पर्यटनका क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ ।” प्रधानमन्त्रीले स्वदेशमा काम गर्ने अवसर नपाएर ठूलो सङ्ख्या विदेशिन बाध्य भएको उल्लेख गर्दै आकर्षक रोजगारीका अवसर सिर्जना गर्न नसके युवा विदेशिनेक्रम नरोकिने बताए ।

प्रधानमन्त्रीले भने, “युवालाई स्वदेशकै रोजगारीमा आकर्षित गराउन सम्मानजनक काम, न्यूनतम आवश्यकता पूग्ने पारिश्रमिक उपलब्ध गराउनुपर्छ । रोजगारी भनेको ‘जागिर’ मात्र होइन, आफ्ना निम्ति आफैँ श्रम सिर्जना गर्ने वातावरण निर्माण गर्नु पनि हो ।”

शिक्षित बेरोजगारीको समस्या समाधान गर्नेगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले शैक्षिक प्रमाणपत्र बेरोजगार समस्या समाधान गर्ने उपाय हुनुपर्ने बताए। शिक्षाको पद्धति, अवस्थासँग बेरोजगार जोडिएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार जीवनोपयोगी शिक्षा दिन लागिपरेको बताए ।

प्रकाशित : १५ असार २०७६, आईतवार १४:०६