पाँचतारा व्यक्तीत्व सम्मानवाट यज्ञराज ढुङ्गेल सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पाँचतारा व्यक्तीत्व सम्मानवाट यज्ञराज ढुङ्गेल सम्मानित



काठमाडौ । सहकारी क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसर पारेर सम्मान गर्ने गरेको छ । सोही अनुसार संस्थाले ११औं स्थापना दिवसको अवसरमा सहकारी क्षेत्रमा अनवरत रुपमा क्रियाशील रहेको भन्दै जनसचेतन बचत तथा ऋण सहकारी संस्था, दोलखाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेललाई सम्मान गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि एवं संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले आज ढुंगेललाई “पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०७६” बाट सम्मान गर्दै नगद १० हजार १५१ र ताम्रपत्र प्रदान गरेकी हुन् ।

२०४२ सालमा दोलखा जिल्लामा साझा सहकारीको उपाध्यक्षको रुपमा सहकारी क्षेत्रमा प्रवेश गरेका ढुंलेलले २०५० सालमा जनसचेतन साकोसमा २० वर्ष अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

हाल उक्त संस्थामा २५ हजार सदस्य आवद्ध छन् भने संस्थाले एक्सेस ब्रोञ्च ब्राण्ड समेत प्राप्त गरिसकेको छ । ढुंगेल वित्तीय साक्षरता फैलाउने र सहकारीको नीतिनियम बनाउने काममा पनि निरन्तर सक्रिय रहँदै आएका थिए । नेफ्स्कुनको सञ्चालक समेत रहेको ढुंगेलले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएका छन् ।

कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले सदस्यको आर्थिक अधिकारलाई स्थापित गर्न सहकारीले काम गर्नुपर्ने बताइन् । पाँचतारा साकोसले राम्रो काम गरेको प्रमाण विभिन्न गतिविधिले प्रष्ट पारेको बताउँदै उनले अहिलेको सहकारी ऐनले गरेको व्यवस्था अनुसार अझ धेरै काम सहकारीले गर्न सक्ने प्रष्ट पारिन् । प्रत्येक सहकारी सदस्यको आर्थिक उन्नतितर्फ उन्मुख हुनुपर्नेमा जोड दिँदै उनले सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य पूरा गर्न सहकारीहरुले सघाउनुपर्ने बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथि एवं भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी नियमावली मन्त्रीपरिषद्बाट पास भइसकेकाले भाषा सम्पादन गरेर केहि दिनभित्रै जारी हुने बताए ।

धेरै सहकारी आन्तरिक सुशासनको अभावमा गुज्रिरहेकाले ती कुरालाई व्यवस्थापन गरी सहकारी संस्थाहरुलाई सुदृढ बनाउन नियमावली सहयोगी हुने विश्वस उनको थियो । सहकारी ऐनमा भएका कुरालाई नियमावलीले कार्यविधि खुलाएर ब्याख्या मात्र गर्ने भएकाले ऐनभन्दा पर गएर नियमावली नआएको उनले प्रष्ट पारे ।

राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले पाँचतारा साकोसले सहकारीमा नवप्रवर्तनको शुरुवात गरेको बताए ।
त्यसैगरी राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सहअध्यक्ष सरोजकुमार शर्माले अन्य संघसंस्थामा सम्मान लिनका लागि आवेदन दिनुपर्ने तर पाँचतारा साकोसले व्यक्तिको योगदान पहिचान गरेर सम्मान गर्ने गरेकाले यो सम्मान लिँदा अभियन्तालाई गर्व लाग्ने उल्लेख गरे । मुलुकको समृद्धिको यात्रामा सहकारीको सम्भावना ठूलो भएको बताउँदै उनले सबै वर्ग र क्षेत्रलाई जोड्ने अभियान सहकारी भएको बताए ।

अर्का वक्ता राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको संख्यात्मक वृद्धिलाई अब गुणात्मकतातर्फ लैजाने बेला आएकोमा जोड दिए । वित्तीय कारणले कुनै पनि संस्थालाई समस्यामा पर्न नदिन बैंकले पूँजी, क्षमता, सीप र प्रविधिका हिसाबले सबै संघसंस्थालाइ सहज बातावरण बनाउन तयार रहेको उनले उल्लेख गरे ।

नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले सहकारी मन्त्रालयले नेफ्स्कुनलाई पहिलो चरणमा २०० संस्थाको आन्तरिक अवस्था के छ भनेर अनुगमन गर्न अनुमति दिएसँगै पाँचतारा साकोसको पनि अनुगमन गरेको बताए । संस्था अनुगमन गर्दा नीति, विधि र प्रविधिमा चलेको पाइएको भन्दै सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न सुझाए । विगत दुई वर्षदेखि नेफ्स्कुनले दिएको हरेक निर्देशन संस्थाले पालन गरेको बताउँदै उनले बचत ऋण अभियानमा पाँचतारा एकाकार हुन तयार रहेको उल्लेख गरे ।
सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले ठूलो कारोबार गर्नेभन्दा पनि सहकारीको भावना अनुसार चल्ने संस्था समुदायको लागि चाहिने उल्लेख गरे । सहकारीलाई गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादन वृद्धिका साथै पिछडिएको वर्गको उत्थानको लागि जोड्नु पर्ने धारणा उनको थियो ।

कार्यक्रममा बोल्दै सांसद एवं सहकारी अभियन्ता घनश्याम खतिवडाले मुलकुकको विकासका लागि सहकारी अपरिहार्य भएको उल्लेख गरे । सहकारीहरु नीति, विधि र प्रविधिमैत्री भइ मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी अघि बढे मुलुकको गरिबी निवारणको लागि अरु कुनै निकाय नचाहिने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंककी अमृता सुब्बाले विश्वका धेरै राष्ट्रले सहकारीबाटै आर्थिक, सामाजिक रुपान्तरण गरेको बताउँदै अरुहरुलाई सुखी बनाउन आफूहरुले स्वयंसेवकको रुपमा काम गरिराखेको उल्लेख गरिन् ।
कार्यक्रमका सम्मानित व्यक्तित्व यज्ञराज ढुंगेलले पाँचताराले गरेको सम्मान जीवनमा सबैभन्दा ठूलो उपलब्धी ठानेको बताए । सहकारीकर्मीहरुले अरुको सन्तुष्टिको लागि काम गर्ने उल्लेख गर्दै ढुंगेलले आफूजस्तो लुकेर बसेको व्यक्तिलाई पाँचताराले खोजेर सम्मान गरेको भन्दै संस्थाप्रति आभार व्यक्त गरे । शहरबजारमा रहेका धेरै संस्थाहरु सदस्य र समुदायकेन्द्रित नभएको अवस्थामा पाँचताराले शहरी क्षेत्रमा रहेर पनि समुदायमा आधारित भएर संस्था चलाउन सकिन्छ भन्ने उदाहरण दिन सकेको बताए ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति भोलानाथ पाठकले समाजमा एकले अर्कालाई सम्मान गर्ने परिपाटीको क्षयीकरण भइरहेको अवस्थामा सहकारी क्षेत्रमा लागेका अग्रजहरुलाई सम्मान दिन यसप्रकारको कार्यक्रम हरेक वर्ष गर्दै आएको बताए । कतिपय अभियन्ताहरुले केन्द्रिय संघले गर्ने काम प्रारम्भिक संस्थाले किन गरेको भनेर प्रश्न गर्ने गरेको बताउँदै अध्यक्ष पाठकले भने “राम्रो काम अन्तरआत्मादेखि जसले गरे पनि हुन्छ ।”
सहकारीलाई बचतऋणमा मात्र सीमित नगरी समाजका हरेक गतिविधिमा जोडेर अगाडि बढाएको उनले प्रष्ट । सामाजिक सञ्जालमा सहकारीको कमीकमजोरीलाई औंल्याउनु भन्दा आन्तरिक रुपमा छलफल गरी सहकारी क्षेत्रका समस्या निराकरण गर्नुपर्नेमा उनले जोड दिए ।

संस्थाको ६ करोड शेयरपूँजी, ३५ करोड बचत, ३६ करोड ऋण लगानी, ५ करोड जगेडा तथा अन्य कोषहरु र आफ्नै भवन रहेकाले संस्थाको अवस्था बलियो रहेको उनले प्रष्ट पारे ।

कार्यक्रममा ज्येष्ठ नागरिक र संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ पटकसम्म रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई सम्मान गरिएको थियो । सोही अवसर पारेर संस्थाले प्रकाशन गरेको पाँचतारा स्मारिका र नयाँ वर्ष २०७६ को क्यालेण्डर समेत विमोचन गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष किरणप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित : २ बैशाख २०७६, सोमबार ११:२९