जिदान रियल मड्रिडको नयाँ प्रशिक्षक नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

जिदान रियल मड्रिडको नयाँ प्रशिक्षक नियुक्त



स्पेनिस जायन्ट रियल मड्रिडले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मड्रिडले वर्तमान प्रशिक्षक सान्टियागो सोलारीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिदानलाई क्लबमा भित्र्याएको हो ।

सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिनेदिन जिदानलाई सन् २०२२ को जुन ३० सम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो । जिदानलाई प्रशिक्षक नियुक्त गरेको आधिकारिक जानकारी रियलले आफ्नो सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटबाट दिएको छ । क्लबले सोलारीलाई मुख्य प्रशिक्षकबाट हटाए पनि क्लबमा रहन चाहेमा अवसर दिने बताएको छ ।

१० महिनाअघि जिदानले रियल मड्रिड छोडेका थिए । उनको स्थानमा जुलेन लोपेटेगीलाई नियुक्त गरेको रियलले उनीबाट राम्रो प्रदर्शन पाउन सकेन । लापेटेगीलाई पनि बर्खास्त गरेर रियलले सान्टियागो सोलारीलाई प्रशिक्षणको जिम्मा दिएको थियो ।

सोलारीको प्रशिक्षणमा पनि रियलको प्रदर्शन सुध्रिन नसकेपछि अन्ततः रियलले जिदानलाई नै फेरि सान्टियागो बर्नाबाउ बोलाएको हो ।

रियल मड्रिडलाई तीनवटा च्याम्पियन्स लिगको उपाधिसहित ९ वटा जिताएर गत मेमा जिदान क्लबबाट अलग्गिएका थिए । अहिले रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछाडि छ । एजेन्सी

प्रकाशित : २८ फाल्गुन २०७५, मंगलवार ०८:५९