काठमाडौं । सर्वसाधारणको अर्बौं रकम ठगी गरेको आरोप लागेका घरजग्गा व्यवसायी बस्नेतले ओरेन्टल सहकारीका बचतकर्ता र हाउजिङ तथा अर्पाटमेन्ट बुकिङकर्ताको सावाँ–व्याज गरी १६ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।
समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीले बिहीबार सार्वजानिक गर्दै संस्थाको साँवा नौ अर्ब १२ करोड तथा गत वर्ष चैत मसान्तसम्मको ब्याज छ अर्ब ८९ करोड रहेको जानकारी दिए ।
सहकारी बचतकर्ताको निक्षेप साँवा र ब्याज गरी आठ अर्ब ३८ करोड, अपार्टमेन्ट बुकिङ रकम चार अर्ब ९२ करोड र बैंक तथा वित्तीय संस्थको कर्जा एक अर्ब ९८ करोड छ । त्यसैगरी सरकारको कर दायित्व र अन्य साहुसमेत दायित्वअन्तर्गत रहेको सुवेदीले बताए ।
अध्यक्ष सुधीर बस्नेत एवं सञ्चालकका नाममा हालसम्म छानविनबाट अचल सम्पत्ति नदेखिएको उनले जानकारी दिए । उक्त सहकारीबाट पीडित निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, शेयर सदस्य र अन्य साहु गरी हालसम्म ७ हजार ५ सय ४६ जनाको माग दाबी निवेदन परेको समितिले जनाएको छ । सर्वसाधारणको निक्षेप फिर्ता प्रकृया कानुनले दिएको अधिकार प्रयोग गरेर गरिने सुवेदीको भनाई छ ।
Comment